Banner News

सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन



काठमाडौँ, २८ जेठ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट दलको सहभागिता सुनिश्चित गर्न सत्ता पक्षीय गठबन्धन र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच आज भएको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको दुबै पक्षका शीर्ष नेताको बैठकमा सरकारले राजपा नेपाललाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता प्रकट गरेको छ ।

यद्यपि, राजपा नेपालले भने सत्ता पक्षले आफ्ना राजनीतिक माग पूरा नगरेको भन्दै आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुन नसक्ने जनाएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपाललाई प्राविधिक रुपमा निर्वाचनमा भाग लिने सहज वातावरण बनाउन केही कानुन संशोधन गर्ने सहमति भएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले तत्काल संविधान संशोधन, जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या वृद्धि र तराई–मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता नभए निर्वाचनमा जान नसकिने बताउनुभयो । राजपा नेपालले आजै बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी पनि नेता झाले दिए ।

बैठकमा प्रधानमन्त्री एवम् नेका सभापति शेरबहादुर देउवा, नेकाका वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्र का नेता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, राजपा नेपालका नेता महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादवलगायत सहभागी थिए ।