Banner News

प्रदेश नं २ मा निर्वाचन आचारसंहिता हटाउने आयोगको निर्णय



काठमाडौँ, २ असार । सरकारले २ नं प्रदेशको निर्वाचन मिति परिवर्तन गरी आगामी असोज २ गते गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले यसअघि त्यस प्रदेशमा लगाइएको आचारसंहिता कायम नरहने जनाएको छ ।

दुई नम्बर प्रदेशका हकमा सम्बन्धित मन्त्रालयले नै सरुवा, बढुवा, नियुक्ति, काज, विदेश भ्रमण लगायतका विषयमा आवश्यक निर्णय लिनसक्ने गरी निर्वाचन आचारसंहितालाई अर्को व्यवस्था नभए सम्मका लागि हटाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
यही असार १४ गते निर्वाचन हुने प्रदेश नं १, ५ र ७ मा भने पूर्ववत् रुपमा आचारसंहिता कायम रहेको उहाँले बताए ।

राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह

यसैगरी निर्वाचन आयोगले निर्वाचनका सन्दर्भमा राजनीतिक गतिविधि गर्दा बालबालिकाको प्रयोग नगर्न÷नगराउन राजनीतिक दलसँग आग्रह गरेको छ ।

राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठनबाट विभिन्न राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएका आचारसंहिता उल्लङ्घनका जानकारी प्राप्त भएको जनाउँदै आयोगले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न र आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दललाई पुनः आग्रह गरेको हो ।

आयोगले नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई बेग्लाबेग्लै पत्र पठाई त्यस्तो आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

यसैबीच, निर्वाचन आयोगले बाजुरा लगायतका जिल्लामा राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गरेको विषयवस्तुका सम्बन्धमा के कसो भएको हो छानबिन गरी आवश्यक कारबाही गर्न र आगामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ आवश्यक पहलकदमी लिन सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।