बाजुरा, ४ असार । अहिले पनि चिठीबाटै सूचना आदानप्रदान गरिन्छ भन्दा अचम्म लाग्न सक्छ । अझ सुरक्षामा खटिने प्रहरी नै चिठी ओसारपसार गर्छन् भन्दा झनै अपत्यारिलो लाग्न सक्छ । तर, यो बाजुराको वास्तविकता हो ।
स्थानीय तहको निर्वाचनका क्रममा सञ्चार सेवा नभएका मतदान केन्द्र र स्थलमा सम्पर्क गर्न प्रहरीलाई नै ओहोरदोहोर गराइएको छ । पाँच गाउँपालिका र चार नगरपालिका रहेको बाजुरामा ७० मतदानस्थल र ९२ मदतान केन्द्र तोकिएको छ ।
भौगोलिक कठिनाइका कारण सञ्चार सेवा नभएका मतदान केन्द्र र स्थलमा सम्पर्क गर्न कठिन हुने भएपछि सूचना सम्पर्कका लागि चिठी बोकेर प्रहरीलाई कुदाउने गरेको छ । जिल्लाका पूर्वी उत्तर क्षेत्रका मतदान केन्द्रमा नेपाल टेलिकम र अन्य कुनै पनि दूरसञ्चार कम्पनीको सेवा सञ्चालनमा छैन ।
‘सञ्चार सेवा नभएका ठाउँमा जानकारी दिन प्रहरी परिचालन गरेर दुवै केन्द्र बीचसम्म जाने र त्यसपछि चिठी दिएर खबर आदानप्रदान गर्ने प्रबन्ध गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने । अन्य विकल्प नभएपछि प्रहरीलाई नै परिचालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
भौगोलिक रूपमा विकट हिमाली गाउँपालिकामा तीनवटा मतदान केन्द्र, गैमुलका दुई केन्द्रमा सञ्चार सेवा उपलब्ध नभएका कारण समस्या हुने देखिएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट ५–६ दिनको पैदल दूरीमा रहेका मतदान केन्द्रहरूमा सुरक्षा निकायका प्रतिनिधि र अन्य कर्मचारी खटाई सकिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए ।
निर्वाचन बिथोल्ने दलहरूको गतिविधि शून्य भए पनि निर्वाचन प्रचारका क्रममा समस्या आउन सक्ने भएकाले त्यही अनुसारको तयारी गरिएको प्रजिअ लामिछानेले बताए । सुरक्षा संवेदनशील भएका ठाउँमा जिल्ला बाहिरबाट समेत थप सुरक्षाकर्मी खटाइएको उनको भनाइ छ ।
९२ मतदान केन्द्रमध्ये ३३ वटा मतदान केन्द्र अति संवेदनशील, ३० ओटा संवेदनशील र ९ वटा सामान्य रहेको विश्लेषणसहित सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ । सञ्चारको कठिन हुने ठाउँका लागि अहिले देखि नै तयारी गरिएको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए ।
१४ असारमा हुने निर्वाचनका लागि आज ९आइतबार० उम्मेदवार मनोनयन हुँदै छ । निर्वाचनका लागि ५ सय ४४ जना कर्मचारी खटाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३२ हजार ५ सय २१ पुरुष, ३२ हजार ४ सय २७ महिला र दुईजना तेस्रो लिंगी गरी ६४ हजार ९ सय ५० जना मतदाता रहेका छन् । राजधानीमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्