Banner News

बुटवल उपमहानगरपालिकामा उम्मेदवारी दर्ता उत्साहजनक



बुटवल, ४ असार । स्थानीय तहको यही असार १४ गते हुने निर्वाचनका लागि रुपन्देहीका अधिकांश स्थानीय तहमा आज बिहानैदेखि उम्मेदवारी मनोनयन सुरु भएको छ ।
जिल्लाको एक मात्रै बुटवल उपमहानगरपालिकामा अपराह्नसम्ममा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित नौ जनाले नगर प्रमुखमा र पाँच जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमहानगरपालिकामा अपराह्नसम्ममा राष्ट्रिय जनमुक्ति पार्टीबाट जनकबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासी, नेकपा ९एमाले०बाट शिवराज सुवेदी, नेपाली काँग्रेसबाट खेलराज पाण्डे र मधेसी जनाधिकार फोरम नेपाल९लोकतान्त्रिक०बाट लोकनाथ पाण्डेले दलीय रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नगरप्रमुख प्रमुखमा होमबहादुर गलामी, रामप्रसाद पोखरेल, शान्तवीर वज्राचार्य र ऋषिराम काफ्लेलेस्वतन्त्र उम्मेदवारी दर्ता गराएका छ ।
उपप्रमुखमा नेकपा एमाले का तर्फबाट गुमादेवी गोमा आचार्य र जनमुक्ति पार्टीबाट धनी आलेले दलीय रुपमा तथा शान्ता खनाल, मञ्जु खड्का र ङनबहादुर दर्जीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

दलका उम्मेदवारहरु आफ्ना उम्मेदवारी दर्ता गर्न बाजागाजा र जुलुससहित पुगेका थिए । उनीहरुले बजार परिक्रमा गरेर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका थिए ।

यस्तै रुपन्देहीको सबैभन्दा ठूलो नगरपालिका तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा समेत मनोनयन दर्ता उत्साहपूर्वक भइरहेको निर्वाचन अधिकृतले जानकारी दिए । रुपन्देहीको दक्षिणी क्षेत्रमा पनि मनोनयन सुरु भएको प्रजिअ विनोदप्रकाश सिंहले जानकारी दिए। जिल्लाका कुनै पनि मतदान क्षेत्रमा मनोनयन दर्तामा कुनै समस्या नभएको र उम्मेदवारी मनोनयनप्रति उत्साहजनक सहभागिता देखिएको जानकारी दिए ।

राजपाका नेता स्वतन्त्रबाट
निर्वाचन बहिष्कारसहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टीले पनि लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका सहितका नौ वटा स्थानीय तहमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् ।

सिद्धार्थनगरमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएका राजपाका जिल्ला नेता रामअवध गुप्ताले जनताले आन्दोलनभन्दा पनि निर्वाचन चाहेकाले जनभावनानुरुप आफूहरुले उम्मेदवारी दर्ता गरेको बताए ।
रुपन्देहीमा उपमहानगरपालिकासँगै पाँच नगरपालिका र १० गाउँपालिका छन् । यहाँ चार लाख ६२ हजार ५४६ मतदाता छन् । तीमध्ये पुरुष दुई लाख ४० हजार ४३०, महिला दुई लाख २२ हजार १११ र तेस्रोलिङ्गी पाँच रहेको निर्वाचन कार्यालयले जनाएको छ ।