Banner News

मतदातालाई आफ्नै पक्षमा पार्दै उम्मेदवारहरु खेत खेतमा



नवलपरासी, ८ असार । नवलपरासीमा फरक शैलीमा उम्मेदवारहरु मत माग्न व्यस्त छन् । घरायसी कामदेखि खेतमा गएर पनि मतदाता रिझाउन उम्मेदवार सक्रिय छन् ।

रोपाई गर्ने याम सुरु भएसंगै उम्मेदवारहरु पनि खेतमा गएर किसानलाई सघाउन लागिपरेका हुन् ।

दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने जील्लाको प्रदेश नं ५ यतिबेला निर्वाचनमय बन्दै गएको छ । नवलपरासीमा पहिलो चरणमा निर्वाचन भई बाँकी रहेको प्रदेश नं ५ अन्तर्गतका सातवटा स्थानीय तहमा निर्वाचन माहोल तातेको हो ।

करिब १९ वर्षपछि हुन लागेको निर्वाचनका लागि जिल्लामा क्रियाशील ठूलादेखि साना दलसम्मका उम्मेदवार आफ्नो पक्षमा मतदाता रिझाउन लागिपरेपनि राष्ट्रिय जनता पार्टी राजपा ले भने निर्वाचनमा भाग लिएको छैन ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, माले र मधेस केन्द्रीत दलमध्ये फोरम लोकतान्त्रिक, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति, मधेस तराई फोरमलगायतका दल चुनावी अभियानमा छन् ।

विभिन्न सभा, जुलुस, घरदैलोलगायतका प्रचारप्रसारमुखी कार्यक्रममार्फत सबैजसो राजनीतिक दलका नेता कार्यकर्ता मतदातालाई रिझाउन घरदैलोमा पुुगेका छन् ।

जिल्लाका सात वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । सबैजसो स्थानमा ठूला शीर्ष राजनीतिक दल काँग्रेस, एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकबीच प्रतिस्पर्धा हुने अवस्था छ ।

प्रदेश नं ५ मा पर्ने नवलपरासीको सातवटा स्थानीय तहमा कुल एक लाख ८३ हजार १३ मतदाता छन् । जसमा ९३ हजार १७७ पुरुष, ९९ हजार ८३१ महिला र पाँचजना तेस्रोलिङ्गी छन् ।