शैक्षिक

गर्मीका कारण एकजनाको मृत्यु



गौशाला, १३ असार । धेरै दिनदेखि पानी नपर्दा हिजो साँझ महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा अत्यधिक गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।

नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय एक पुरुषको मटिहानी गाउँपालिका–५ स्थित बजारमा अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रहरी चौकी मटिहानीका प्रहरी नायब निरीक्षक महेन्द्र साहले बताउनुभयो ।

आँखा स्पष्ट नदेख्ने ती पुरुष केही दिन पहिले मटिहानी बजारमा देखा परेको र बजारमै माँगी खाने तथा खुल्ला आकाशमुनि नै रातदिन बिताउँदै आएकोमा उनको हिजो साँझ गर्मीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहानैदेखि महोत्तरीमा प्रचण्ड घामका कारण अत्यधिक गर्मी थियो भने मटिहानी बजारमा पीरबाबाको मजारमा ठूलो मेला लागेका कारण थुप्रै मानिस आएका बेला सो व्यक्तिले गर्मी छल्ने ठाउँ नपाउँदा उनको मटिहानी बजारमै बेहोस भएर लड्दा मृत्यु भएको हो ।

मृतकको शव गएराति परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।