Banner News

एमालेद्धारा सरकारी ज्यादतीको विरोध, आचारसंहिता पालना गर्न माग



काठमाण्डौ १३ असार ।२०७४ असार १४ गते हुन गइरहको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको व्यापक दुरुपयोग गर्दै सत्तापक्षबाट भइरहेका तिकडमहरुप्रति नेकपा एमाले को गम्भीर ध्यानाकर्षण भएको छ । साथै, निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा गरिएको बम विस्फोटप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ ।

यसक्रममा नेकपा एमाले का नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, उनीहरुको ज्यान लिने, शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गर्ने र सरकारी तहबाट आचारसंहिताको ठाडो उल्लंघन गर्नेसम्मका क्रियाकलाप भएका छन् ।

गत असार ४ गते बाजुराको छेडेदह–६ मा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्न गइरहेको हाम्रो जुलुसमाथि आक्रमण गरेर सत्ताधारी नेपाली कांग्रेसका कार्यकर्ताले हाम्रा कार्यकर्ता हंसबहादुर रावतको हत्या गरेका छन् । उक्त घटनामा संलग्न अपराधीहरुका विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा सत्ताको दुरुपयोग गर्दै मुद्दा दर्तासमेत गरिएको छैन भने अपराधमा संलग्न सबै जनालाई पक्राउ समेत गरिएको छैन । घटनामा संलग्नहरुलाई बचाउन प्रहरी–प्रशासनको चरम दुरुपयोग गरिएको छ ।

बाँकेकमा हाम्रो पार्टीले आमसभा गरिरहेको बेला अर्को सत्ताधारी दल माओवादी केन्द्रका कार्यकर्ताले नजिकै गएर माइकिङ गर्ने र उत्तेजना फैलाउने काम गर्दै सभा विथोल्ने दुस्प्रयास गरेका छन् । सोलुखुम्बुको नेचा–सल्यानटार गाउँपालिकामा नेपाली कांग्रेसका सांसदकै उपस्थितिमा हाम्रा कार्यकर्तामाथि हातपात गरिएको छ भने दार्चुलामा सत्तापक्षका कार्यकर्ताबाट हाम्रा कार्यकर्तामाथि आक्रमण गरिएको छ ।

निर्वाचनलाई व्यवस्थित, स्वच्छ र धाँधलीरहित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले ठाडै उल्लंघन गरिरहेको छ । यक्रममा गृहमन्त्री जनार्दन शर्माले सरकारी साधन–स्रोत दुरुपयोग गरी बाँके, कैलालीलगायतका जिल्लामा आफ्नो पार्टीका कार्यक्रममा गई निर्वाचनलाई प्रभावित पार्न गरेको कोसिसप्रति हाम्रो गम्भीर आपत्ति छ ।

अघिल्लो चरणको निर्वाचनमा सत्तापक्षबाट धाँधली र ज्यादती भएको स्वीकार गर्दै व्यवस्थापिका–संसद्बाट संसदीय छानबिन समिति गठन हुँदा समेत यसपटक सत्तापक्षले आफ्नो पुरानौ रवैया जारी राख्नु अत्यन्त खेदजनक छ । साथै, निर्वाचन आचारसंहिता ठाडै उल्लंघन हुँदा निर्वाचन आयोगसमेत मौन बसेकोप्रति हामीलाई आश्चर्य लागेको छ ।

हाम्रो पार्टी सत्तापक्षबाट निर्वाचनलाई प्रभावित पार्नका लागि गरिएका आक्रमण र ज्यादतीहरुको घोर विरोध गर्दै त्यस्ता हर्कत अविलम्ब बन्द गरी शान्तिपूर्ण र धाँधलीरहित रुपमा निर्वाचन गर्ने वातावरण तयार गर्न जोडदार माग गर्दै त्यस्ता आक्रमण र ज्यादतीहरुमा संलग्न भएकाहरुलाई अविलम्ब कानुनी कारवाहीको दायरामा ल्याई स्वच्छ निर्वाचनको सुनिश्चितता गर्न माग गर्दछ । साथै, निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा गम्भीरताका साथ ध्यान दिन निर्वाचन आयोगलगायत निर्वाचन अनुगमनमा संलग्न संस्थाहरुको ध्यानाकर्षण गराउन चाहन्छ ।