शैक्षिक

दुई मतदान केन्द्र अपाङ्ग र महिलाका भरमा



बैतडी, १३ असार । अपाङ्ग र महिलाले मात्र चलाएका दुई मतदान केन्द्रलाई विषेश मतदान केन्द्रका रुपमा राखिएको छ ।

दशरथचन्द नगरपालिकामा अपाङ्मैत्री र पाटनमा महिलाले मात्रै सञ्चालन गरेको मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए ।

दशरथचन्द नगरपालिका– १ को गुरुखोला ‘ख’ केन्द्रमा मतदान अधिकृत जीतबहादुर रोकायासहित छजना अपाङ्गता भएका कर्मचारी मात्रै खटाइएको छ । सबैजना शारीरिक अपाङ्गता भएका कर्मचारीलाई समेटेर एउटा छुट्टै मतदान केन्द्र स्थापना गरिएको फुयाँलले बताए ।

त्यस्तै पाटन नगरपालिका– ६ स्थित पन्त्यौडा माविमा रहेको मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता बुढाऐर मतदान अधिकृत रहेको उक्त मतदान केन्द्रमा सहायक मतदान अधिकृत सडक डिभिजन कार्यालयकी कम्प्युटर अपरेटर निर्मला खनाल रहेकाछन । पाँच सय ५६ मतदाता रहेको सो मतदान केन्द्रमा पाँचजना महिला कर्मचारीले मात्रै निर्वाचन प्रक्रिया सम्पन्न गर्ने भएका छन ।

चार नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा एक सय ७४ मतदान केन्द्र तथा एक लाख २४ हजार ८२४ मतदाता रहेका छन् ।