Banner News

उत्साहका साथ निर्वाचनमा होमिए पाल्पाली मतदाता



पाल्पा, १४ असार । झन्डै दुई दशकपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी हुने पाल्पाका मतदाता निकै उत्साहका साथ निर्वाचनमा होमिएका छन् । लामो समयदेखिको प्रतीक्षाको घडीमा रहेका यहाँका मतदाता मतदान गर्न आज बिहान ५ नबज्दै मतदान केन्द्रमा पुगेका छन् ।

आफ्नो मताधिकार प्रयोग गर्नका लागि निर्वाचनमा निकै उत्साहका साथ मतदान केन्द्रमा बिहानदेखि नै लाइनमा बसेका छन् । घरायसी काम चाँडै नै सकाएर बिहान ५ बजे नै मतदान केन्द्रमा आइपुगेको रामपुरकी शारदा रेग्मीको भनाइ छ । विगतका निर्वाचनमा भन्दा यस पटक धेरै रमाइलो लागेको उनले बताइन।

अर्का ७० वर्षीय मतदाता लालबहादुर दिसुवा पनि बिहानदेखि मतदानका लागि मतदान केन्द्रमा आएको बताउछन । उनि भन्छन जीवनमा धेरै पटक धेरै जनालाई मतदान गरियो तर यसपटक विगतका निर्वाचनमा भन्दा निकै उत्साह बढेको छ, मतदान खेर नजाओस् भनेर पार्टीगत नभई सही र सक्षम उम्मेदवारलाई मतदान गर्ने तयारीमा छु ।

उनले सात ठाउँमा पार्टीगत नभई विकासप्रेमी, असल नेतृत्वकर्ता, जुझारु नेतालाई मतदान गर्ने बताउछन । यस पटकको निर्वाचनले मतदानमा सहभागी हुने मतदातालाई मात्र होइन बालबबालिका, स्कुल पढ्ने विद्यार्थी पनि निकै उत्साहित बनेर मतदान केन्द्रको बाहिर लामबद्ध रुपमा हेर्न आउनेको जमात पनि छ ।

लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा गाउँका विकास निर्माणका कामले गति लिन नसकेको अवस्था छ । त्यसैले यस पटकको निर्वाचनपश्चात् पक्कै पनि गाउँको विकास निर्माणले मुहार फेर्ने आशामा आम मतदाता रहेका छन् ।