काठमाडौं, १५ असार । एमालेले दोस्रो चरणको निर्वाचनमा सात नम्बर प्रदेशमा सत्ताको दुरुपयोग भएको आरोप लगाएको छ ।
दोस्रो चरणको मतदान सकिएलगत्तै एमाले सचिव योगेश भट्टराईले विज्ञप्ती जारी गर्दै सत्तारुढ पार्टीबाट सत्ताको दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन् । एमालेले अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा सत्ताको दुरुपयोग भएको दाबी गरेको छ ।
अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्र, डोटीको केआई सिंह नगरपालिका, अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा धाँधली भएको एमालेको आरोप छ ।
‘पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया दोहोर्याइनुले हामीलाई चिन्तित बनाएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसको घोर भत्सर्ना गर्दै हाम्रो पार्टी त्यसरी सत्ता–संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनस् मतदान गराउन माग गर्दछ ।’
एमालेले दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु र मतदाताहरुलाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गरेको छ । उसले निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरुरुलाई पनि धन्यवाद दिएको छ ।
एमालेले सत्तारुढ गठबन्धनले प्रदेश नम्बर दुईका जनतालाई निर्वाचन प्रक्रियाबाट अलग गर्ने हर्कत गरेको भन्दै आपत्ति जनाएको छ । ‘यसबाट उनीहरुको लोकतान्त्रिक अधिकार मात्र खोसिएको छैन, संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियामा नै गम्भीर आघात पुर्याएको छ,’ विज्ञप्तीमा लेखिएको छ । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्