सम्पादकीय

१, ५ र ७ मा मतगणना सुरु हुँदै



काठमाडौं, १५ असार । १, ५ र ७ का सबै स्थानीय तहमा बुधबार उल्लासमय रूपमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान कतिपय स्थानीय तहमा मतदाताको उत्साहजनक सहभागिताका कारण साँझ अबेरसम्म चलेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमा ७० दशमलव ५ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगले बुधबार साँझ आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरेर प्रदेश–१, ५ र ७ अन्तर्गत पर्ने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा जनप्रतिनिधि चयन गर्ने प्रक्रियाका लागि भएको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको बताएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले तीनै प्रदेशबाट प्राप्त प्रारम्भिक नतिजाअनुसार ७० दशमलव ५ प्रतिशत मत खसेको बताएका हुन् । ‘३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ७० दशमलव ५ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको विवरण प्राप्त भएको छ,’ प्रमुख निर्वाचन आयुक्त यादवले पत्रकार सम्मेलनमा बोल्दै भने ।

आयोगले ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका कुल ८ हजार ३ सय ६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र ‘क’ र ‘ख’मा भने मतदान स्थागित भएको जनाएको छ ।

सोलुखुम्बुको एक निर्वाचन केन्द्रमा वडा सीमाप्रति असन्तुष्टि जनाउँदै मतदाताले मतदान बहिष्कार गरे भने नवलपरासीको अर्को एक केन्द्रमा पनि यस्तै प्रकृतिको विवादका कारण दुईजनाले मात्र मतदान गरे ।

एउटा केन्द्रमा स्थगन, दुई केन्द्रमा मतदाताको असन्तुष्टि र केही केन्द्रमा सामान्य झडपबाहेक निर्वाचन भएका सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।

‘सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण एवं अत्यन्त उत्साहजनक र मतदाताको व्यापक उल्लासपूर्ण सहभागितामा सम्पन्न भएको छ,’ प्रमुख आयुक्त यादवले भने । बझाङको एक केन्द्रमा भने वृद्ध मतदाताले सहयोगी लगेको विषयमा विवाद बढेपछि मतदान स्थगित भएको छ ।

आयोगले केही मतदान केन्द्रमा वर्षाका कारण मतदान तोकिएको भन्दा ढिला सुरु भएको तर जनसहभागिता भने उल्लेख्य रहेको बताएको छ । आयोगले मतदान कार्यलाई व्यवस्थित गर्न सहयोग गरेकोमा राजनीतिक दल, उम्मेदवार, स्थानीय नागरिक समाज तथा अन्य सरोकारवालाबाट प्राप्त सहयोगप्रति धन्यवादसमेत दिएको छ ।

आयोगले निर्वाचन परिणामप्रति विश्वास व्यक्त गर्न र मतदाताको मतादेशलाई पूर्ण सम्मान गर्न समस्त राजनीतिक दल र उम्मेदवारहरूसँग निर्वाचन अपिलसमेत गरेको छ । उसले मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयम प्रदर्शन गर्न तथा लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ ।

विराटनगर महानगरपालिकामा बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य साँझ ७ बजेसम्म जारी थियो । उक्त महानगरपालिकामा मतदानका लागि लाइन बसेका नसकिएपछि अबेरसम्म मतदानको अवसर दिइएको छ ।

मतदान कार्यमा सहभागी हुन युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिसमेत उत्सुकतापूर्वक सहभागी भएका थिए ।

निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतपेटिकालाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन सुरु गरिएको छ । विकट हिमाली तथा पहाडी जिल्लाका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न आयोगले हेलिकोप्टरको व्यवस्था गरेको छ । मतपेटिकाहरू सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना सुरु हुने आयोगले बताएको छ ।

बुधबार भएको निर्वाचनबाट गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य निर्वाचित हुनेछन् । दोस्रो चरणअन्तर्गत तीनै प्रदेशका गरी एक महानगर, सात उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा जनप्रतिनिधि चयनका लागि दोस्रो चरणअन्तर्गतको स्थानीय तह निर्वाचन भएको हो । निर्वाचनका लागि ६२ हजार ४ सय ८ उम्मेदवारले निर्वाचन प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार मतदानअगावै ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । आफ्ना प्रतिनिधि चयन गर्न दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताको नाम नामावलीमा समावेश थियो । निर्वाचनका लागि आयोगले ४ हजार ५ सय ८१ मतदान स्थल र ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरेको थियो । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुने आयोगले बताएको छ । राजधानीमा समाचार छ ।