Banner News

बैंक व्यापार गर्ने संस्था हैन – गभर्नर नेपाल



काठमाडौँ, १६ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्नेमा जोड दिनुभएकोे छ ।

कुमारी बैंक लिमिटेडको एकीकृत कारोबार शुभारम्भ गर्दै उहाँले स्थानीय तहको निर्वाचनपछि ठूलो आर्थिक क्रियाकलाप स्थानीय तहमा हुने र त्यहाँ पुँजी आवश्यक पर्ने हुँदा बैंकहरु चाडो स्थानीय तह गाउँसम्म पुग्नु आवश्यक भएको बताउनुभयो ।

“बैंक र वित्तीय संस्थाको क्षमता अभिवृद्धि गरी आर्थिक क्रियाकलाप हुने स्थानीय तह गाउँसम्म विस्तार गरी दक्ष जनशक्ति र कुशल व्यवस्थापन जरुरी छ – गभर्नर नेपालले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकको एकीकृत कारोबार गर्ने नीतिअनुरुप बैंकको पुँजी झन्डै चार गुणाले बढेको र यसले एकीकृत कारोबार गर्न उत्साह प्रदान गरेको बताउनुभयो ।

बैंकर्स सङ्घका अध्यक्ष अनिलकेशरी शाहले बैंक तथा वित्तीय सुधारका लागि एकीकृत कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

कुमारी बैंकका सञ्चालक डा शोभाकान्त ढकालले आफूहरुले राष्ट्र बैंकको नीतिअनुरुप पुँजी वृद्धि गरी आगामी कार्ययोजना तयार पारेको र अहिले बैंकको निक्षेप पुँजी जम्मा रु ५२ अर्ब र कर्जा ४५ अर्ब रहेको जानकारी दिनुभयो ।

यसैबीच कुमारी बैंकले राष्ट्र बैंकको नीति आठ अर्ब चुक्ता पुँजी अनुरुप आजदेखि एकीकृत कारोबार सुरु गरेको जनाएको छ ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ति एकीकृत गरी कारोबार सुरु गरेको हो ।

कुमारी बैंकमा तीनवटा बैंक तथा वित्तीय संस्था एकीकृत भएपछि ७५४ कर्मचारी र ७४ वटा शाखा पुगेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकको नीति अनुसार २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको रु आठ अर्ब, विकास बैंकको दुई अर्ब ५० करोड चुक्ता पुँजी पु¥याउनुपर्नेछ ।