Banner News

बुटवल उपमहानगरमा एमाले विजयी



बुटवल, २१ असार । रुपन्देहीको एक मात्र उपमहानगरपालिका बुटवलमा एमालेले जित हासिल गरेको छ ।

उपमहानगरपालिकाको आज सम्पन मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार १९ वटा वडामध्ये १६वटा वडासहित नगर प्रमुख तथा उपप्रमुखमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गर्नुभयो ।

नगर उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्यले २५ हजार ३०१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय पार्टी जनमुक्तिबाट उम्मेदवार बनेका माओवादी केन्द्रका जगत पोखरेलले १४ हजार ७९२ मत पाउनुभयो ।

निर्वाचनमा विजयी भएपछि प्रमुख सुवेदीले आफूहरुले उपमहानगरका जनतासँग गरेका प्रतिबद्धताअनुसार नगरको आवश्यकता अनुरुप काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीको चुनावी गठबन्धनले वडा नंं १ मा एक महिला सदस्य, वडा नंं १३ मा अध्यक्षसहित एक महिला सदस्य, वडा नंं १८ मा अध्यक्ष र वडा नं १९ मा अध्यक्षसहित तीन सदस्य मात्र जित्न सफल भएको छ