उदयपुर, २३ असार । गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा एमाले ले विजय हासिल गरेको छ ।
जिल्लाको त्रियुगा नगरपालिकामा नेकपा एमाले का प्रमुखका उम्मेदवार बलदेव चौधरी ११ हजार ३६८ मत प्राप्त गरेर प्रमुख पदमा विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसन्त बस्नेतले ११ हजार २९५ मत प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा भने नेकाका उम्मेदवार देवी चौधरी ११ हजार ३२२ मत प्राप्त गरेर विजयी भइन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का गीता रेग्मीले ११ हजार २७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताए ।
यस्तै, जिल्लाको बेलका नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले का उम्मेदवारले विजय हासिल गरेका छन् । बेलकाको प्रमुखमा एमालेका दुर्गाकुमार थापा पाँच हजार ८१८ मत प्राप्त गरेर विजयी भए भने उपप्रमुखमा एमालेकै राजकुमारी चौधरीले ६ हजार १३१ मत प्राप्त गरेर विजय भइन निर्वाचन अधिकृत हरि पोखरेलले बताए ।
प्रमुख पदमा थापाका प्रतिद्वन्द्वी नेकाका अशोक कार्की पाँच हजार २६६ मत प्राप्त गरे भने उपप्रमुखमा पनि नेकाका दीपा राईले पाँच हजार २८६ मत प्राप्त गरिन । उदयपुर जिल्लाको आठ स्थानीय तहमा चार नगरपालिका र चार गाउँपालिकामध्ये अब नेकपा एमाले ले जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिका गरेर ६ स्थानीय तहको प्रमुख पदमा विजय हासिल गरेको छ ।
यस्तै, नेकाले जिल्लाको चौदण्डी नगरपालिकामा मात्र विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले जिल्लाको सुनकोसी गाउँपालिकामा विजय हासिल गरेको छ । अब उदयपुरको आठवटा नै स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना कार्यसमेत सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्