Banner News

त्रिसट्ठी टोलका मूल गुरुलाई सम्मान



काठमाडौँ, २५ असार । गुरु पूर्णिमाका अवसरमा ज्यापू संस्कृति विकास कोषले यहाँका विभिन्न ६३ टोलका मूल गुरुलाई आज सम्मान गरेको छ ।

नेवारी परम्पराअनुसार प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले भादगाउँले कालो टोपी, टीका, फूलको माला, दही, माछा, अण्डा तथा रक्सीको सगुनसहित पूजा गरेका थिए ।

काठमाडौँको वन्दे, तननी, मखन, नेत, ज्याठा, यट्खा, नबहाः, चाबही, थँबहीलगायत ६३ टोलका मूल गुरुलाई सम्मान गरिएको हो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले यहाँका कला संस्कृति विश्वमै उत्कृष्ट रहेको र यसको जर्गेनाका लागि महानगरपालिका आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा कोषका संरक्षण तीर्थराम डंगोलले काठमाडाँैका सांस्कृतिक सम्पदालाई बचाइराख्ने जिम्मेवारी महानगरपालिकाको हो भने ।

सोही कार्यक्रममा चौधौँ ज्यापु दिवस विविध कार्यक्रमका साथ मनाउन कोषका तर्फबाट परम्परागत नबहाः टोल दगु दापा खलःलाई संयोजक चयन गरी खलःका अध्यक्ष न्हुछेनारायण डंगोललाई रु एक लाखको चेक हस्तान्तरण गरिएको थियो ।