Banner News

आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने – उपप्रधानमन्त्री महरा



काठमाडौँ, २८ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए ।

परराष्ट्र मन्त्रालयमा आज उद्योग व्यवसायीको प्रतिनिधि मण्डलसँग भेटवार्तामा उनले विदेशस्थित नेपाली कुटनीतिक नियोगलाई आर्थिक कुटनीतिका लागि परिचालन गरिने जानकारी दिए ।

दुई ठूला छिमेकीले हासिल गरेको उपलब्धिबाट आर्थिक फाइदा लिनुपर्नेमा जोड दिँदै उनले भने हामीले हाम्रो राष्ट्रिय फाइदालाई केन्द्रमा राखेर अगाडि सार्नुपर्छ ।

उद्योग व्यवसायीका समस्यालाई अन्तर्राष्ट्रियस्तरमा सहजीकरण गर्न परराष्ट्रमन्त्रालयले पहल गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले कुटनीतिक क्षेत्रले पनि आर्थिक समृद्धिका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सको छुट्टाछुट्टै प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री महरालाई भेटेको थियो । भेटमा मन्त्री महराले मुलुकलाई राजनीतिक बहसबाट आर्थिक बहसतर्फ केन्द्रित गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्तगरे ।

उनले मुलुकमा लगानीको वातावरण बनाउन सकिएमा द्रूतगतिमा आर्थिक विकास गर्न सकिने भएकाले त्यसका लागि आफूले पहल गर्ने बताए ।

भेटका अवसरमा परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले द्विपक्षीय सम्बन्धको आधारमा नेपालले आर्थिक कुटनीति अवलम्बन गरेर आर्थिक विकास र व्यापार सहजीकरणको भूमिका निर्वाह गर्न र लगानी तथा व्यापार प्रवद्र्धनका लागि दूरगामी आर्थिक नीति बनाउनका लागि पहल गर्न अनुरोध गरे ।

त्यसैगरी चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई मजबुुत बनाएर लैजानुपर्नेमा जोड दिए । उहाँले द्विपक्षीय एवम् बहुपक्षीय मञ्चमा आर्थिक विकासका मुद्दालाई अगाडि बढाउन सरकारले पहल गर्नुपर्ने बताए।