Banner News

दमक नगरपालिकाले नेपालमा नै पहिलोपटक ‘नलेज बैंक’ खोल्ने



दमक, ३० असार । झापाको दमक नगरपालिकाले नगरको समृद्धि अभियानमा सघाउने उद्देश्यले सम्भवतः नेपालमा नै पहिलोपटक ‘नलेज बैंक’को अवधारणा ल्याएको छ ।

दमकको विकास र यहाँको समृद्धिका लागि आवश्यकीय प्राज्ञिक, विभिन्न पेशागत दखल भएका बौद्धिक व्यक्तित्व र सर्वसाधारणलाई समेटेर नगरपालिकाले त्यस्तो ‘नलेज बैंक’ ज्ञान भण्डार को अवधारणा ल्याएको हो । नगरप्रमुख रोमनाथ ओलीले सबै क्षेत्रको नगरसम्बन्धी दृष्टिकोण तथा विचारलाइ सङ्ग्रहित गर्नका लागि ‘नलेज बैंक’ स्थापना गर्ने तयारी गरिएको जानकारी दिए ।

उनले भने, हामीले नगरलाई समृद्ध गराउन देश–विदेशका अनुभवलाई साटासाट गर्न तथा यहाँको प्राज्ञिक अनुभवलाई उपयोग गर्न नलेज बैंकको अवधारणा ल्याउन पहल गरेका हाँै ।

यस्तो अवधारणा झट्ट सुन्दा अचम्म लागे तापनि यसबाट नगरपालिकालाई फाइदा पुग्ने नगरप्रमुख ओली बताउछन। ओलीले रगत जम्मा गरेर धेरैको ज्यान बचाउने काम ब्लड बंैकले गरेजस्तै विकासका लागि बुद्धिजीवीका सुझाव र योजनालाई सङ्ग्रहित गर्नका लागि यस्तो अवधारणा उपयोगी हुने दाबी गर्छन ।

उनले जनप्रतिनिधि र कर्मचारीसँंगै प्राज्ञिक व्यक्तित्वको अनुभवलाई एकै ठाउँमा उपयोग गर्न यस्तो प्रयास शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, मानिसहरुको बुद्धि र विवेकलाई पनि जम्मा गर्न सकिन्छ र आवश्यकता परेको अवस्थामा रोयल्टी तिरेर भएपनि त्यसको प्रयोग गर्नुपर्छ । यो बंैकमा राखिएका विचार तथा दृष्टिकोणलाई आधुनिक कम्प्युटर प्रविधिबाट विश्वका जुनसुकै ठाउँँमा आदान प्रदान गर्नसमेत सकिने उनको भनाइ छ ।

नगरपालिकाको विकास र नगरपालिकासँग सम्बन्धित जुनसुकै विषयका सुझाव, गुरुयोजना, विचारलाई एकीकृत गर्न त्यस बैंकले काम गर्ने तथा त्यस्ता कुनै रचनात्मक श्रव्य दृश्य, लिखित, मौखिक, जुनसुकै तवरबाट पनि जो कोहीले पनि नगरपालिकालाई उपलब्ध गराउन सकिने व्यवस्था गरिने नगरप्रमुख ओलीको जोड छ ।

अहिलेसम्म क्षमतावान् व्यक्तिको दूरदृष्टि भिजन लाई सुन्ने र सङ्ग्रहित गर्ने काम नभएकाले यो कार्य जरुरी रहेको देखेर उहाँले निर्वाचनताका जनताका माझ त्यस्तो बंैकको अवधारणा ल्याउनुभएको थियो ।