राजनीति

वडाबाटै नाम दर्ता गर्ने व्यवस्था मिलाउन माग



काठमाडौँ, ३१ असार । व्यवस्थापिका–संसद्मा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरुको एक समूहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मतदाता नामावली दर्ता गराउने अवधि १५ दिन बढाउन माग गरेको छ ।

पूर्वमन्त्री एवम् सांसद बालकृष्ण खाँणको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका सांसदहरुले स्थानीय तहको वडाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था गराउन माग गरेको छ ।

साउन १५ गतेसम्म जिल्ला सदरमुकाममा नाम दर्ता गर्न निर्वाचन आयोगले सूचना जारी गरेको र उक्त अवधि साउन मसान्तसम्म बढाउन माग गरिएको सांसद रामहरि खतिवडाले राससलाई जानकारी दिए ।

नाम दर्ता गराउन छुटेका सबैलाई दर्ता गराउने व्यवस्था मिलाउन, विसं २०७० मा नाम दर्ता गरेकाको यथावत् राख्न, गाउँ फरक परेकाको विवरण सच्याउन र विदेशमा हुनेको नामावली इन्टरनेटबाट संकलन गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री देउवासँग माग गरिएको उनले बताए।

सो अवसरमा प्रधानमन्त्री देउवाले आयोगसँग समन्वय गरी माग पूरा गराउन पहल गर्ने वचन दिनुएक थिय । प्रतिनिधिमण्डलमा सांसदहरु आनन्द ढुंगाना, अब्दुल रज्जाकलगायत सहभागी थिए ।