सम्पादकीय

सरकारले नै थाप्छ सडकमा धराप



काठमाडौं, २ साउन । कौशलटारस्थित सडकमा असार २ गते राति साढे १ बजे बा १ ज ५१३१ नम्बरको टाटा सुमो चिप्लिएर छेउको बारमा ठोकियो । चालक प्रताप लामाले सडकको बीचमा रहेको फलामे बारलाई जोगाउन खोज्दा गाडी किनारमा बजारिएको थियो ।

दुर्घटनामा लामासहित चार जना घाइते भए । कम्तीमा फलामे बारमा रातो बत्ती वा टल्किने वस्तु भए गाडी हाँक्नेलाई सजिलो हुन्थ्योु, लामाले भन्नुभयो, अँध्यारोमा गाडी हाँक्नेलाई यस्तो बारले धेरै झुक्याएको छ । दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । यी फलामे बार धरापजस्तै लाग्छन् ।’

बालाजुका रमेश बलामी असार १५ गते बानेश्वरको एक रेस्टुराँमा काम सकेर घर फर्किंदै गर्दा बबरमहलस्थित फलामे बारमा ठोक्किनुभयो । मोटरसाइकलमा सवार बलामीले बिस्तारै हाँक्दा पनि अर्कोले ओभरटेक गरेपछि छल्न खोज्दा बारमा ठोक्किएको बताउनुभयो ।

‘टुटेको बार थियो, पछाडिबाट हुइँकिएर मोटरसाइकल आएपछि छल्न खोज्दा दुर्घटनामा परें, ’उहाँले भन्नुभयो, ‘यस्ता बार व्यवस्थित तवरले राख्नुपर्‍यो, होइन भने नराखे पनि हुन्छ । यो त सरकारले नै धराप थापेजस्तै भयो ।’

त्यस्तै, गोंगबुस्थित सडकको बारमा असार ९ गते राति २ बजे मोटरसाइकल ठोक्किँदा बालाजु शेषमतीका सरोज महर्जन र पुरानो गुह्यश्वरीका सागर तामाङको मृत्यु भएको थियो । बार सडकछेउमा भए पनि कुनै संकेत नहुँदा महर्जन र तामाङ ठोक्किन पुगेको ट्राफिक प्रहरीको दाबी छ ।

माइतीघरबाट बबरमहल हुँदै बिजुलीबजार पुलसम्म तीन वर्षदेखि सडक विभागले बार राखेको छ । चालकलाई सवारी दिशा र लेन थाहा पाउन सजिलो होस् भन्ने हेतुले राखिएको फलामे बार अहिले चालककै लागि अभिशाप बनेको छ ।

काठमाडौं उपत्यकामा राखिएका यस्ता बारमा ठोक्किएर गत आर्थिक वर्षमा २९ वटा दुर्घटना भए । जसमा दुई जनाको मृत्यु, एक जना गम्भीर र २२ जना घाइते भए ।

चालकले तीव्र गतिमा सवारी साधन हाँक्दा भएका दुर्घटनामा पटक९पटक बार भाँचिएका छन् । बार भाँचिन्छ, फेरि राखिन्छ । कतिपय ठाउँमा भाँचिएपछि समयमै नयाँ बार राख्न नसक्दा सडकको सुन्दरतामै ह्रास आएको छ । विभाग र डिभिजन सडक कार्यालय १ ले ट्राफिक प्रहरीको गुनासोपछि मात्रै भाँचिएका ठाउँमा बार थप्दै आएका छन् ।

ट्राफिकको रेकर्डमा माइतीघर–बबरमहल सडकखण्ड दुर्घटनाको दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मानिएको छ । समयमै बार मर्मत हुन नसक्दा झन् दुर्घटनाको जोखिम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङ्मार लामा बताउनुहुन्छ ।

‘बारको आवश्यकता नै नभएको होइन तर व्यवस्थित हुनुपर्‍यो, बारको टुप्पोमा सिग्नल लाइट राख्नुपर्‍यो तब न चालकले राति पनि देख्छन् । अँध्यारोमा नदेखेर पनि दुर्घटना भएको छु, डीआईजी लामा भन्नुहुन्छ, ‘दुर्घटनामा बार भाँचिन्छ तर पटक९पटक गुहारेपछि मात्रै विभागले नयाँ बनाइदिन्छ ।’

प्रारम्भमा विभागले उक्त फलामेबार राखे पनि अहिले त्यसको रेखदेख डिभिजन सडक कार्यालय १ ले गर्दै आएको छ । ‘पहिला विभागले हेर्दै आएको थियो, अहिले हामीले हेरेका छौ’, कार्यालय प्रमुख मुकुन्दराज अधिकारी भन्नुहुन्छ, ‘त्यो फलामेबार राख्ने वा नराख्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

ट्राफिक प्रहरीले बार नहटाउन तर व्यवस्थित गर्न सुझाव दिएको छ । सडक विभागसँगको छलफलपछि केही दिनमै के गर्ने भन्ने निष्कर्षमा पुग्छौं ।’ बार समयमै मर्मत नहुँदा सवारीसाधन आवागमनमै समस्या उत्पन्न भएको उहाँको स्वीकारोक्ति छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।