सम्पादकीय

पूर्वराजा ज्ञानेन्द्र वंशाणुगत रोगको सिकार



काठमाडौं, ५ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको धमनीमा दोस्रोपटक एन्जिओप्लास्टी गरिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार नर्भिक अस्पताल पुगेका उनको धमनीमा ब्लक देखिएपछि तत्काल एन्जिओप्लास्टी गरिएको हो । यसअघि सन् २०१४ मा मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्रको एन्जिओप्लास्टी गरिएको थियो ।

चिकित्सकहरूका अनुसार पूर्वराजा ज्ञानेन्द्रको नसा ८५ प्रतिशत ब्लक भइसकेको थियो । यो भनेको मानिस गम्भीर अवस्थामा पुग्नु हो । ‘पहिला पनि एन्जिओप्लास्टी गरिसकेका कारण उहाँ नियमित स्वास्थ्य परीक्षणमा आउथे ।

यसपटक नयाँ नसामा ब्लकेज देखियो, जुन अति नै महत्वपूर्ण नसा हो । हामीले तत्काल उहाँको अनुमतिमा एन्जिओप्लास्टी गरी स्टेन्ट लगाउन सफल भयौँ,’ उपचारमा संलग्न डा.यादव भट्टले भने ।

स्वास्थ्य परीक्षणका क्रममा एन्जिओग्राफी गर्दा पूर्वराजा ज्ञानेन्द्रको मुटुको धमनी ब्लक भएको देखिएको थियो । नसामा ब्लकेज देखियो भने एन्जिओप्लास्टी गरी ब्लक भएको नसा खोल्ने र स्टेन्ट हाल्ने गरिन्छ । अहिले शाहको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । उनलाई तीन दिनपछि डिस्चार्ज गर्ने अस्पतालले बताएको छ ।

वंशाणुगत रोगः चिकित्सक

पूर्वराजा ज्ञानेन्द्रमा देखिएको मुटुरोग वंशाणुगत भएको चिकित्सकहरूले बताएका छन् । उपचारमा संलग्न डा। भट्टका अनुसार राजपरिवारमा वर्षौँदेखि देखिँदै आएको मुटुरोगले ज्ञानेन्द्रमा पनि निरन्तरता पाएको हो । परिवारका सदस्यमा रहेको नसा ब्लक हुने समस्या अर्को पुस्तामा पनि देखिने गरेको उनले बताए । नयाँ पत्रिकामा समाचार छ ।