काठमाडौं, ५ साउन । भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रलाई विश्व सम्पदाको सूचीबाट हटाउने खतरा टरेको छ । पोल्यान्डको क्रयाकोमा हालै सम्पन्न वल्र्ड हेरिटेजको ४१ औँ अधिवेशनमा विश्व सम्पदामा परेका क्षेत्रको संरक्षण लागि नेपालले गरिरहेको पहलबारे जानकारी दिइएको थियो ।
सम्मेलनमा सहभागी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले लेबनान लगायत मुलुकले वसन्तपुरलाई केही वर्ष खतराको सूचीमा राख्न लबिङ गरेका जानकारी दिए ।
तर, टर्कीका प्रतिनिधिले नेपाललाई साथ दिएपछि यसपटक हामीले यो खतरा टारेका छौँ, उहाँले स्मरण गरे । आगामी फेब्रुअरीमा युनेस्कोको ‘रिएक्टिभ मोनिटरिङ मिसन’ नेपालको सम्पदा संरक्षणमा भएका प्रगति अनुगमनका लागि काठमाडौँ आउनेछ ।
त्यति बेलासम्म नेपालले ‘हेरिटेज आउटस्ट्यान्डिङ युनिभर्सल भ्यालु’ कायम राख्ने गरी काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेर आएको छ ।
यसैबीच, भूकम्पका कारण भत्किएको धरहरा पुनःनिर्माण गर्ने विषयमा संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयबीच सहमति हुन सकेको छैन । भूकम्पको कारण भत्किएको धरहरालाई यथावत राखेर वरपरका करिब ४० रोपनी क्षेत्रफलमा पुरानै धरहराको स्वरूपमा नयाँ टावर निर्माण गर्न डिजाइन तयार भए पनि दुई निकायबीच विवाद छ ।
धरहराका लागि नेपाल टेलिकमले करिब तीन अर्ब रुपियाँ लगानी गर्न तयार भएको जनाउँदै आएको छ । तर, पछिल्लो चराणमा टेलिकमले कुल क्षेत्रफलको करिब ३० प्रतिशत क्षेत्रफलमा आफ्नो व्यावसायिक भवन निर्माण गर्न पाउनुपर्ने माग अघि सारेपछि अन्योल थपिएको हो । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्