Banner News

भारतको १४औं राष्ट्रपतिमा कोबिन्द विजयी



नयाँ दिल्ली भारत ५ साउन । रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित हुनुभउको छ । भारतीय इतिहासमा तल्लो जातबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व हुनु भएको छ ।
भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उहाँलाई ६५ प्रतिशत मत प्राप्त भएको, निर्वाचन आयोगले जनाएको छ ।
एकहत्तर बर्षीय पूर्व वकील तथा राज्य सरकारका गभर्नर भइसक्नु भएका सिमान्तकृत दलित समुदायका कोविन्दलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स  एनडीए’ तर्फबाट उहाँको नाम मनोनयन भई गत सोमबार मतदान भएको थियो । मतगणना बिहीबार सम्पन्न भएको हो ।
विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । भाजपा नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठवन्धनबाट राष्ट्रपतिका उम्मेदवार बन्नु भएका कोविन्दले ६५.३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कंग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४.३५ प्रतिशत मत पाउनु भएको छ ।

साउन २ गते सम्पन्न निर्वाचनपछि आज सम्पन्न मतगणनामा कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मीरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाउनु भएको आयोगले जनाएको छ ।

निर्वाचनमा भारतका लोकसभाका र राज्य सभाका सांसदले मतदान गरेका थिए । पीटीआई/एएफ्पी