काठमाडौँ, ७ साउन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको छ । सन् २०१३ देखि नेपाल यो सूचीमा रहदाँ नेपाल असुरक्षित मानिन्थ्यो ।
आइकाओको बिहीबार बसेको एसएससी संपरीक्षण कमिटी बैठकले नेपाललाई यस सूचीबाट हटाउने औपचारिक निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
‘निकै ठूलो मिहिनेतपछि शुक्रबार नेपालले आइकाओबाट खुसीको खबर प्राप्त गरेको छ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘नेपालमाथिको गम्भीर सुरक्षा चासो हटाउँदै नेपाली आकाश सुरक्षित रहेको सुनिश्चित गरेको छ ।’
आइकाओले निर्धारण गरेका सुरक्षा अभिवृद्धिसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै नेपाललाई सन् २०१३ मा गम्भीर सुरक्षा चासोको सूचीमा समावेश गरिएको थियो ।
आइकाओले हवाई सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने आठवटा क्षेत्रमा बनाइएका मापदण्ड, सिफारिस तथा मार्गदर्शनलाई आधार मानेर नम्बर दिने गर्छ । ६० प्रतिशत औसत पार गर्ने मुलुकलाई एसएससी सूचीबाट बाहिर निकालिन्छ ।
सन् २०१३ मा अन्तर्राष्ट्रिय मापदण्ड तथा सिफारिसको परिपालनादर ५४.८० प्रतिशत थियो । अहिले ६६.०८ पुगेको प्राधिकरणले जानकारी दिएको छ ।
युरोपेली युनियनमा अपिल गर्ने तयारी
नेपाल अन्तर्राष्ट्रिय नियामक निकाय (आइकाओ) को गम्भीर सुरक्षा चासोबाट हटेसँगै अब नेपालले युरोपेली युनियन (इयू) सँग हवाई सुरक्षा सूची (कालो सूचीं) बाट हटाउन अपिल गर्ने भएको छ ।
‘हामी अहिले पनि इयूको सेफ्टी लिस्टमा छौँ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘इयूले सेफ्टी लिस्टको आधार एसएससीसमेत बनाउने भएकाले हामीस“ग अब बलियो आधार छ ।’नयाँपत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्