सम्पादकीय

सवारी साधन अनुमतिपत्र परीक्षा रद्द



भक्तपुर, ९ साउन । पहिलो पटक आइतबारदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द भएको छ ।
यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित ‘इजी वे ट्रायल सेन्टर’ प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा आजदेखि निःशुल्क सञ्चालन गर्ने सम्झौता सेन्टरसँग गरे पनि मोटरसाइकल प्रयोग गरेबापत प्रतिव्यक्ति ५५ लिन लागेकाले परीक्षार्थीले सोको विरोध गरेका थिए । परीक्षा दिन धुलिखेल, पनौती, बनेपा र भक्तपुरलगायत ठाउँबाट ३१९ जना आएका थिए ।

कार्यालय र प्रालिबीच निःशुल्क ट्रायल सेन्टर सञ्चालन गर्न भएको लिखित सम्झौताअनुसार भक्तपुरमा प्रयोगात्मक परीक्षा हुने भनिए पनि यहाँ नहुने भनी कार्यालयले परीक्षार्थीलाई काठमाडौँस्थित मीनभवन, ट्रली बस क्षेत्रमा जान आह्वान गरेको थियो ।

यातायात व्यवस्था विभागले ट्रायल दिने परीक्षार्थीसँग प्रतिव्यक्ति ५५ शुल्क यामाहा मोटरसाइकलबाट ट्रायल परीक्षा दिन दिएको निर्देशन विपरीत अन्य व्यवसायी आई परीक्षार्थीलाई निःशुल्क नै सवारी साधन उपलब्ध गराउन भनेपछि विवाद भएको थियो ।

बिहान ७ बजेदेखि प्रयोगात्मक परीक्षा सुरु हुने भएपछि ५ बजेदेखि लामबद्ध बसेका परीक्षार्थीलाई विवाद र तनावका बीच ९ बजे यहाँ हुने परीक्षा रद्द भएको जानकारी गराउँदै यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख अनोज घिमिरेले विगतमा जस्तै काठमाडौँको मीन भवनमै परीक्षा दिन जान आग्रह गरेपछि परीक्षार्थी नाराबाजी गर्दै फर्किएका थिए ।

भक्तपुर र भक्तपुरपूर्वका बासिन्दालाई षड्यन्त्रपूर्वक फेरि काठमाडौँंमै परीक्षा दिन पठाउन लागिएको आरोप लगाउँदै उनीहरूले भक्तपुरमै प्रयोगात्मक दिन पाउनुपर्ने माग गर्दै एक घण्टा नाराबाजी गरेका थिए । गोरखापत्रमा समाचार छ ।