काठमाडौ,१२ साउन । नेकपा एमाले का नेताशंकर पोख्रेलले मधेसका जनताहरु एमालेलाई जिताउन आतुर रहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल प्रदेश नम्वर ५ को विस्तारित बैठकको उद्घाटन गर्दै नेता पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले तेस्रो चरणको स्थानीय निर्वाचनका लागि एमाले तयार रहेको भन्दै मधेसी जनता पनि एमालेलाई प्रदेश नम्बर दुईबाट पनि पहिलो पार्टी बनाउन आतुर रहेको बताउनुभयो ।
उहाँले चुनाव हारिन्छ भन्ने सत्ता पक्षको मनोविज्ञानले मात्र चुनाव हुदैन कि भन्ने आशंका रहेको पनि बताउनु भयो । सत्ता गठबन्धन नै निर्वाचन नगराउने खेलमा लागि रहेको उहाँको आरोप थियो । राष्ट्रिय जनता पार्टी नेपाल राजपालाई देखाएर नेपाली कांग्रेस र माओवादी केन्द्र नै निर्वाचन नगराउने खेलमा लागेको उहाँको आरोप थियो । ‘दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपा प्रभावित क्षेत्रमा समेत ७५ देखि ८० प्रतिशत मतदान भएको स्मरण गराउन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘अब निर्वाचन नहुने कुनै कारण छैन ।’
नेता पोखरेलले तीन वटै तहको निर्वाचनमा एमाले पहिलो पार्टीका रुपमा आउने उद्घोष गर्दै भन्नुभयो– ‘हाम्रो लक्ष्य भनेको संघको निर्वाचनमा बहुमत प्राप्त गरी दिगो सरकार चलाउने हो । त्यसका लागि प्रत्यक्षतर्फ दुई–तिहाई र समानुपातिक तर्फबाट मिलाएर सुरक्षित बहुमतका आधारमा सरकारको नेतृत्व गर्ने हो ।’
माघ ७ भित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि प्रधानमन्त्री भने म्याद थप्ने, प्रदेश नम्वर दुईमा स्थानीय तह थप गर्ने कुरा गर्दै हिडेको भन्दै पोख्रेलले आश्चर्य व्यक्त गर्नुभयो । प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति लोकतन्त्र खतरामा पर्ने खालको भन्दै यसका विरुद्ध सबैलाई एकजुट हुन पनि आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष गगन विष्ट, एमाले प्रचार विभाग सदस्य डिल्ली विसी, डिआर घिमिरे, चौतारीका महासचिव राजेश राई, सचिव भरत केसी, एमाले प्रदेश नम्वर पाचका सदस्य लक्ष्मण आचार्यले पनि सम्वोधन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्