काठमाडौं, १३ साउन । सामाजिक सञ्जाल ‘फेसबुक’बाट भाइबुहारीको चरित्रहत्या हुने गरी अश्लील सन्देश तथा फोटा प्रेषित गर्ने मोरङ उर्लाबारी – ७ घर भई हाल मैतीदेवी बस्दै आएको ३२ वर्षीय दिनेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार, अभियुक्त न्यौपानेले सौतेनी आमापट्टीको भाइको श्रीमतीको नाममा नक्कली फेसबुक खोली सौतेनी आमा, भाइ, भाइको साथी तथा सबै आफन्तहरूलाई भाइ बुहारीको नाममा अश्लील फोटो तथा म्यासेज पठाइ चरित्रहत्या गरेका थिए ।
सौतेनी आमासँगको घरायासी विवादलाई लिएर अभियुक्त न्यौपानेले प्रेमिका काठमाडौँ रामकोटकी रीना थापामगरसँग मिलेर भाइबुहारीको नाममा सबै आफन्तको चरित्रहत्या गर्ने गरी फेसबुकमा अश्लील सामग्री तथा चरित्रहत्या हुने किसिमका फोटा तथा सन्देशहरू सार्वजनिक गर्दै आएको ब्युरो प्रहरीले जनाएको हो ।
ब्युरो प्रहरी प्रमुख शेरबहादुर बस्नेतका अनुसार, अभियुक्त न्यौपानेले लामो समयदेखि नक्कली फेसबुकबाट अश्लील सामग्री प्रदर्शन गर्दा २० वर्षीया भाइबुहारी गम्भीर सङ्कटमा परेकी थिइन् । न्यौपाने र उनकी प्रेमिका रीना पक्राउ नपरेको भए ती महिलाको ज्यान खतरामा थियो उनले भने । पक्राउ अभियुक्त दिनेश र रीनालाई विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा दर्ता गरी कानुनी कारबाही भइरहेको जनाएको छ ।
कम्प्युटर, इन्टरनेट र मोबाइललगायतका विद्युतीय सञ्चार माध्यामहरूबाट कसैप्रति घृणा वा द्वेष फैलाउने, अश्लील र शिष्टारचार विरुद्धका सामग्री प्रकाशित गर्ने र जातजाति र सम्प्रदायकबीचको सम्बन्ध खलल पार्ने व्यक्तिलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरी एक लाख रुपियाँ जरिवाना र पाँच वर्ष कैद हुनसक्ने कानुनी व्यवस्था छ । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्