काठमाडौं, १७ साउन । नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच ‘पदीय’विवाद छ । पार्टी शीर्ष नेतृत्वमा विवाद नभए पनि त्यसपछिको नेता को भन्नेमा भने अधिकांश दलमा हानथाप छ ।
मुख्य नेतापछि को भन्नेमा नेताबीच देखिएको ‘टसल’ का कारण कतिपय अवस्थामा दलका बैठक प्रभावित हुने गरेको छ । आन्तरिक रूपमा नेताहरूको वरीयता निर्धारण गर्न नसक्दा कांग्रेस, माओवादीदेखि राष्ट्रिय जनता पार्टी (राजपा) र नयाँ शक्तिसम्ममा विवाद देखिएको छ ।
एमालेले भने यो विषय पदीय हैसियतअनुसार नै टुंगो लगाएका कारण विवाद त्यति सुन्नमा आएको छैन ।
गत शुक्रबार माओवादी केन्द्रको कार्यालय बैठकमा यो विषयले औपचारिक प्रवेश पायो । माओवादीका एक उच्च नेताका अनुसार कार्यालय सदस्य मणि थापाले माओवादी बैठकमा यो विषयलाई प्रवेश गराएका हुन् । मुख्य तीन नेता अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापापछि उनीहरूसँगै बस्ने नेताको पनि टुंगो लगाउन थापाले माग गरेका थिए ।
कांग्रेसमा नेताहरूको वरीयता निर्धारण गरिएको छ । तर, वरीयतामै नेताहरूको असन्तुष्टि छ । गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङसहित पाँच नेताले असन्तुष्टि जनाउँदै अझैसम्म पार्टी बैठकका माइन्युटु मा हस्ताक्षर गरेका छैनन् । वरीयता विवाद निरुपण गर्न ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति नै बनेको छ । तर, उक्त समितिले नौ महिनादेखि प्रतिवेदन बुझाउन सकेको छैन ।
माओवादीमा दाहालसँगै एकातिर थापा र अर्कोतिर श्रेष्ठ बस्दै आए पनि त्यसपछि को बस्ने भन्नेमा अस्वस्थ दौड चल्न थालेकाले थापाले त्यस्तो माग गरेका हुन् । यद्यपि, उनको त्यस्तो मागका विषयमा दाहालले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।
खासगरी नेता कृष्णबहादुर महरा, देव गुरुङ, टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटालगायत मात्रै होइन, पार्टी हेडक्वार्टरका ३५ जना नेता तीन शीर्ष नेताको छेवैमा बस्न दौडने गर्छन् ।
माओवादी केन्द्रले हेटौंडा महाधिवेशनबाटै पदीय मर्यादा निर्धारण गर्न सकेको छैन । अझ ०७३ जेठमा विभाजित माओवादी पार्टीबीच एकतापछि त झन् उसले यस विषयलाई पन्छाउँदै आएको छ । पछिल्लो चरणमा नेताहरूको कार्यविभाजनलगायत विषय टुंगो लगाउन सचिवालय बैठकपछि लगातार तीनपटक हेडक्वार्टर बैठक बसे पनि निर्णय भएको छैन ।
बैठक १८ गतेसम्म स्थगन भएको छ । एकतापछि बहुपदीय संरचनामा जाने वा एकपदीय भन्ने विषयमा देखिएको विवादपछि उसले ंहेडक्वार्टरु बनाएर चलाउँदै आएको छ ।
माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालपछि पदीय हैसियतमा कुन नेता रहने भन्ने टुंगो लागेको छैन । सामान्यतया दाहालपछि नारायणकाजी श्रेष्ठ र उनीपछि रामबहादुर थापा भनेजस्तो देखिन्छ । यद्यपि, यो माओवादीको आधिकारिक निर्णय होइन । यी तीन शीर्ष नेता कुम जोडेरु पार्टी बैठकदेखि अन्य कार्यक्रममा बसे पनि उनीहरूको छेउमा को बस्ने भन्ने हानथाप छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी कांग्रेसमा पनि पदीय विवाद यथावत छ । नेताहरू गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, डा। रामशरण महत, अर्जुननरसिंह केसी र रमेश लेखकले वरीयतामा असन्तुष्टि जनाउँदै पार्टी बैठकको माइन्युटमा हस्ताक्षर नै गरेका छैनन् ।
बैठकमा उपस्थित भए पनि उपस्थिति पुस्तिकामा यी नेताले हस्ताक्षर गरेका छैनन् । अहिले उपप्रधान तथा शिक्षामन्त्रीसमेत रहेका गोपालमान श्रेष्ठ वरीयतामा विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई आफूभन्दा अगाडि राखिएकोमा असन्तुष्ट छन् ।
कुलबहादुर गुरुङले पनि निधि र सिटौलाभन्दा आफू वरिष्ठ भएको भन्दै असन्तुष्टि जनाएका छन् । केसी र महतले कुन नेतालाई आफ्नो वरीयताभन्दा अगाडि राखिएको नखुलाए पनि असन्तुष्टि भने पोखेका छन् । नेता लेखकको पनि त्यस्तै छ ।
नेताहरूले मर्यादाक्रममा विवाद उठाएपछि कांग्रेसले विवाद छिनोफानोका लागि ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा आनन्दप्रसाद ढुंगाना र फरमुल्लाह मन्सुर सदस्य थिए । गत वर्ष कात्तिकमा गठन भएको समितिको यो बीचमा तीन–चारपटक बैठक बसे पनि प्रतिवेदन तयार हुन सकेको छैन । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्