शैक्षिक

जिल्ला अस्पतालमा सुलभ फार्मेसी शुरु



धनकुटा, १७ साउन । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई राहत दिने नीतिअनुरुप जिल्ला अस्पताल, धनकुटामा सुलभ फार्मेसी औषधि पसल सञ्चालनमा आएको छ ।

सोमबारदेखि जिल्ला अस्पतालमा सरकारले उपलब्ध गराउने ७० प्रकारका निःशुल्क औषधिबाहेक अन्य औषधि अवस्था कमजोर भएका बिरामीलाई राहत दिन सुलभ औषधि पसल सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाले जनाएको छ ।

औषधि पसलमा सबै प्रकारका रोगीका लागि औषधिको अधिकतम मूल्यको १० प्रतिशत छुटमा औषधि बिक्री गरिने धनकुटा अस्पतालका डा मदनकुमार उपाध्यायले बताए ।

अस्पताल विकास समितिमार्फत सरकारले प्रदान गर्ने रु पाँच लाख बराबरको लागतमा सञ्चालन भएको पसलले हाल ८४ प्रकारका अति आवश्यक औषधि उपलब्ध गराउने अस्पताल विकास समितिका अध्यक्ष सुनिलकुमार डंगोलले बताए।

जिल्ला अस्पताल धनकुटाले आयोजना गरेको औपचारिक कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक विष्णुबहादुर बस्नेतले औषधि पसलको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, उद्योग वाणिज्य सङ्घ, धनकुटाका अध्यक्ष उमेश घिमिरेलगायतले पसल सञ्चालनसँगै दक्ष प्राविधिक र उपकरणसमेतको प्रयोग गरी सर्वसाधारणलाई स्वास्थ्य उपचारमा विश्वास दिलाउन आवश्यक रहेको बताए ।