Banner News

आर्थिक समृद्धिका लागि एमाले पहिलो शक्ति बन्नुपर्ने : नेता खनाल



काठमाडौँ, १७ साउन । नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले देशको आर्थिक समृद्धिका लागि एमाले तीनै तहको निर्वाचनमा पहिलो शक्ति बन्नुपर्ने बताए ।

बिसौँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आज यहाँ तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरिएको सम्मान समारोहमा उनले भने –एमाले पहिलो शक्ति भए मात्र देशको आर्थिक समृद्धि हुन्छ ।

दुई चरणको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बनेको छ, उनले भने, अब हुने केन्द्रीय र प्रदेशको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्नुपर्दछ ।

नेता खनालले असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने बताउँदै अहिलेको संसद्बाट कुनै हालतमा पनि संविधान संशोधन हुन सक्दैन् भने ।

केन्द्रीय र प्रदेश तहको निर्वाचनपछि संशोधनका बारेमा सोच्न सकिने पनि उनले बताए ।

कार्यक्रममा नेपालको लोकतान्त्रिक एवम् कम्युनिष्ट आन्दोलनमा राजनीति क्षेत्र र संगीत गायन क्षेत्रबाट विशेष योगदान पु¥याउनु हुने राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा राजनीति क्षेत्रबाट एमालेका नेता भरतमोहन अधिकारी तथा गायन क्षेत्रबाट गायक तथा सांसद जेबी टुहुरे छन् ।

सो अवसरमा नेता खनालले प्रतिष्ठानमा रहेका तुल्सीलालको शालिकको अनावरणसमेत गर्नुभयो ।