विश्व

भेनेजुएलामा विवाद झन् बढ्यो, दुई विपक्षी नेता पक्राउ



कराकस, १७ साउन । भेनेजुएलामा सम्पन्न संविधान सभाको निर्वाचनपछि झन विवाद बढेको समाचार छ । सो निर्वाचन विपक्षीले बहिस्कार गरेका थिए ।

भेनेजुएलाका निर्वाचन अधिकारीहरुले पनि संविधानसभाको निर्वाचनमा जम्मा ४१.५ प्रतिशत मतदान भएको सार्वजनिक गरेका छन् ।

उनीहरुको सो जानकारीपछि विपक्षी दलले पनि ८८ प्रतिशतले मतदान बहिष्कार गरेको बताएका छन । यहाँका विपक्षी दलहरुले उक्त निर्वाचनलाई अवैध भन्दै आएका छन ।

यहाँको मुख्य विपक्षी दलले निर्वाचनको नतीजा अस्वीकार गर्दै सोमबारदेखि थप विरोध प्रदर्शनका लागि आह्वान पनि गरिसकेको थियो । सोही बमोजिम हाल यहाँ आन्दोलन जारी छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले भने सो निर्वाचनलाई एक क्रान्तिको रुपमा लिएको बताए। उनले आफूले पाएको मतको स्वागत पनि गरे ।

आइतबार सम्पन्न उक्त मतदानका क्रममा व्यापक हिंसा भएको थियो । त्यस हिंसामा परी कम्तीमा पनि १० जना मारिएको समाचार आएको थियो ।

यहाँ सोमबार पनि दिनभर सडकमा सरकार विरोधी प्रदर्शन र हिंसा भएको छ । यो निर्वाचनलाई विजय मान्न सकिन्छ कि सकिन्न भन्ने बारेमा पनि यहाँ बहस भएको छ ।

राष्ट्रपति मादुरोले उक्त मतदानलाई प्रजातन्त्रको उदाहरणका रुपमा लिनुभएको छ भने विपक्षीले उनीमाथि धाँधली गरेको र मतदातालाई डर देखाएको आरोप लगाएका छन ।

यसैबीच मङ्गलबार प्राप्त अर्को एक समाचारअनुसार यहाँका विपक्षी दलका दुई जना नेतालाई पक्राउ गरिएको छ । उनीहरुको पक्राउ पछि आन्दोलन थप बढ्ने अनुमान गरिएको जनाइएको छ ।

ती दुई नेता विपक्षी दलका प्रभावशाली नेता भएकोले उनीहरुलाई घरमै नजरबन्द गरिएको जनाइएको छ । उनीहरुलाई प्रहरीले पहरा दिई घरैमा नजरबन्दमा राखिएको समाचारमा जनाइएको छ । एएफपी