Banner News

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन



चितवन १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिए ।

यो लाइफ लाइनको बाटो हो, जनताले धेरै दुःख पाएका छन् । निर्माण चाँडो सक्नुपर्छ, उनले भने, सडक निर्माण गर्न सरकारले गर्नुपर्ने सहयोग गर्छ । प्रधानमन्त्री देउवा बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी आउनुभएको थियो । उहाँले आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरे ।

दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गरे । सो अवसरमा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे उहाँलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि पुग्नुभएका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए । अहिलेसम्म किन प्रगति भएन, सक्ने ठाउँमा चाडो काम गर्नुप¥यो, उनले भने । निर्माण चाँडो सक्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको मन्त्री बलायरको भनाइ थियो ।