विश्व

लेबनान र सिरियाली सीमामा सैनिक कारबाही



बेरुत, १९ साउन । गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ ।

उक्त क्षेत्रमा आतङ्ककारी क्रियाकलापमा बृद्धि भइरहेको र सिरियामा आतङ्कारीहरुको घुसपैठ रहेको भन्दै कारबाहीलाई केही दिनसम्म नै सशक्त बनाइने यी दुई संयुक्त सैन्यका कमाण्डरले जनाएका छन् ।

उक्त क्षेत्रमा सुरु भएको यस कारबाहीबाट दुई देशको सीमामा सयौँ आतङ्ककारीले जारी राखेको हिंसात्मक हमलामा कमी आउने अनुमान गरिएको छ ।

त्यस इलाकामा रहेका लडाकूलाई यसअघि नै सो क्षेत्र छोड्नको लागि सम्झौता गरिएको थियो । तर उनीहरुले उक्त क्षेत्र नछोडेपछि हिंसाको क्रम बढेको बताइएको छ ।

लेबनानका प्रधानमन्त्री सआद हारिले सिरियासँगको सीमानामा रहेको इलाकामा सैनिक कारबाही सुरु गर्न हालैमात्र आदेश दिनुभएको बताइएको थियो ।

त्यसैगरी हेज्बोल्लाहका नेता शैख हसन नसराल्लाहले गत हप्ता लेबनान र सिरियाली सेनाले सीमा इलाकाबाट आतङ्ककारीलाई हटाउनको लागि संयुक्त कारबाही गर्ने बताएका थिए ।

सिरियाली सरकारको नियन्त्रणमा रहेको सैंनिकको सञ्चारमाध्यमले सो कारबाही शुक्रबार बिहानबाट सुरु भएको बताएको थियो ।

प्रधानमन्त्रीको सो आदेशपछि लेबनानी सहर एर्साल र सिरियाली सहर फ्लेएटामाको बाहिरी इलाकामा कारबाही सुरु गरेको सेनाले जनाएको छ । एपी