जनकपुर, २१ साउन। तेस्रो चरणको चुनावी अभियानका क्रममा प्रदेश नम्बर २ मा रहेका एमाले नेताहरुले अन्य सबै पार्टीले गरेका र आफ्नो पार्टीले गरेका कामको तुलना गर्न जनसमक्ष आग्रह गरेका छन् । सत्तारुढ कांग्रेसले लामो समय सरकारमा बस्दा तराईका उद्योगधन्दा निजिकरण गरेर बन्द गराएको र आफ्नो सरकार आएपछि जनताको जीवनस्तर उकास्न गरेका कामहरुको चर्चा एमालेका नेताहरुले गर्न थालेका हुन् ।
मैथिली भाषामा राम्रो पकड राख्नुहुने एमाले महासचिव ईश्वर पोखरेलले शनिवार धनुषामा आयोजित भेलामा एमालेले सरकारमा रहेका कामको मात्रै चर्चा गर्नुभएन । उहाँले लामो समय सत्ता चलाएको कांग्रेसले दर्जनौं उद्योगहरु बन्द गराएर तराईका युवाहरुलाई बेरोजगारीमा डुवाएको तथ्यसमेत प्रस्तुत गर्नुभयो ।
‘तराई मधेसको लाइफलाइन हुलाकी मार्ग बनाउन, यहाँको जीवनरेखा बदल्न केपी ओलीको सरकारले बजेटको ब्यवस्था गर्यो’ पोखरेलको भनाई थियो, ‘तराई मधेसका सदरमुकामको एकीकृत विकास गर्न ५० करोडका दरले बजेट एमाले सरकारले नै छुट्यायो । एमाले बाहेक कुन दलले मधेसका लागि समृद्धि ल्याउने काम गरे रु’
‘तपाईंहरु सुर्ती खेती गर्नुहुन्थ्यो, यहाँ जनकपुर चुरोट कारखाना थियो । कांग्रेसले लामो समय सरकारमा बसेर बन्द गरायो’ पोखरेलले भन्नुभयो, ‘बीरगञ्ज चिनी कारखाना, विराटनगर जुटमिल, बुटवल धागो, हेटौंडा कपडा कसले खत्तम गर्यो रु यहाँका युवालाई बेरोजगार बनाउने काम कसले गर्यो रु’ कांग्रेस, माओवादी र मधेसी दलका नेताहरु सरकारमा हुँदा गरेका काम र आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामको फेहरिस्त पोखरेलले प्रस्तुत गर्नुभयो ।
संविधान संशोधनमा ल्याइएका नागरिकता, भाषा लगायतका प्रावधान तराई मधेसमा बसोवास गर्ने जनताका निम्ति कसरी हानिकारक छन् भन्ने तथ्य पनि पोखरेलले प्रस्तुत गर्नुभयो । एमाले मधेसी जनताको पहिचानको पक्षमै रहेकाले मैथिली, भोजपुरी लगायतका मातृभाषालाई विस्थापित गर्ने संविधान संशोधनको विरोध गरेको पोखरेलले वताउनुभयो । ‘यहाँको भाषा, संस्कृति र भेषभुषाको पहिचान एमालेले संरक्षण गर्न खोज्यो । भोजपुरी, मिथिला संस्कृति, मैथिली भाषालाई समाप्त पार्ने प्रयास विरुद्ध एमाले उभियो’ पोखरेलले भन्नुभयो, ‘यहाँका मौलिक पहिचानमाथि बाह्य हस्तक्षेप बढाउन खोज्नेहरुले हामीलाई मधेसविरोधी भनी झूठ प्रचार गरे ।’
उहाँले कुन पार्टीको नेतृत्व समावेशी रहेको भनी आफैं मुल्यांकन गर्न समेत आग्रह गर्नुभयो । ‘कांग्रेसको हेर्नुस्, माओवादीको हेर्नुस्, मधेसवादीको हेर्नुस् कुन पार्टीको नेतृत्व समावेशी छ र? अवसरहरु दिंदा कुन पार्टीले समानुपातिक ब्यवस्थाका आधारमा दिन्छन् रु’ पोखरेलको भनाई थियो, ‘तपाईंहरु आफैं हेर्नुहोस् कुन पार्टी समावेशिताको पक्षमा छ र?’ पोखरेलले आफ्नो सम्पूर्ण भाषण मैथिलीमा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्