सम्पादकीय

राजपा संशोधनबिना चुनावमा नजाने



काठमाडौँ, २३ साउन । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पारित हुनुपर्ने मुद्दालाई ‘बटम’ लाइन मान्दै यथास्थितिमा चुनावमा नजाने निष्कर्षमा पुगेको छ ।
पदाधिकारी बैठकलगत्तै आइतबार सुरु केन्द्रीय कार्यसमिति बैठकमा बहुमत नेता चुनावमा जान नहुने पक्षमा उभिएका छन् । तर राजपाभित्रकै महेन्द्र यादव, शरतसिंह भण्डारी, हृदयेश त्रिपाठीलगायतले भने चुनावलाई प्रयोग गरेर जानुपर्ने धारणा राखेका छन् ।

अल्पमत नै भए पनि चुनावलाई प्रयोग गर्नुपर्ने मतले पार्टीलाई तरंगित पारेपछि राजपाले केन्द्रीय समिति बैठकमा के गर्ने भन्ने विषयमा व्यापक छलफल चलाउने भएको छ । राजपा स्रोतका अनुसार यो छलफल ४र५ दिनसम्म चल्नेछ र त्यसपछि मात्रै औपचारिक निर्णय आउनेछ ।

चुनावका पक्षमा उभिएका नेता यादव भने आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित रहनुलाई राजपाकै नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन् । उनी बैठकमा सहभागी नभई आइतबारै गृहजिल्ला गएको राजपाका एक नेताले जनाए ।

बैठकमा हृदयेश त्रिपाठीले ५ नम्बर प्रदेशको जस्तै अवस्था आउन नदिन चुनावमा जानुपर्ने धारणा राखेका थिए । उनले पार्टीमा पदीय विभाजनप्रति चर्को असन्तुष्टि पनि पोखे । त्यही असन्तुष्टिका कारण उनले यसअघि पदाधिकारी बैठक बहिष्कार गरेका थिए ।

राजपा नेता मनीष सुमनले अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले चुनावलाई प्रयोग गरेर अघि बढ्नुपर्ने फरक धारणा राख्दै आए पनि अध्यक्षमण्डलका अन्य सदस्य र केन्द्रीय पदाधिकारी यथास्थितिमा चुनावमा जान नहुने पक्षमै अडिग रहेको बताए ।

‘४–५ दिनमा परिस्थिति यथास्थितिमै रहे पदाधिकारी बैठकले दिएको निष्कर्षलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ,’ उनले भने, ‘संविधान संशोधनलगायत ५ वटा माग पूरा नहुँदासम्म हामी चुनावमा जाँदैनौं ।’ पदाधिकारी बैठकले चुनावमा नजाने निष्कर्ष निकाल्दै चुनावलाई कसरी बिथोल्न सकिन्छ भन्नेबारे छलफल चलाएको उनले सुनाए । कान्तिपुरमा समाचार छ ।