शैक्षिक

जुम्लामा पनि गाईजात्रा मनाइयो



जुम्ला, २५ साउन । दिवंगत आत्माको सम्झना गर्दै जुम्लामा सांस्कृतिक पर्व गाईजात्रा मंगलबार धुमधामका साथ मनाइएको छ ।

यो वर्ष दिवंगत भएका मीनबहादुर रोकाया, प्रकाश श्रेष्ठ र दुर्गा विकको घरबाट गाईजात्रा निकालिएको थियो । दिवंगत आत्माको सम्झना साथै चिरशान्तिको कामना गर्न र शोकाकुल परिवारको दुःख मेटाउन वर्षेनी गाईजात्रा पर्व मनाउने गरिएको जात्रा समितिका महासचिव आनन्द अधिकारीले जानकारी दिए ।

तत्कालीन राजा प्रताप मल्लको रानी शोकमा डुब्दा उनको शोक मेटाउन गाईजात्रा निकाल्ने संस्कृति बसालेसँगै यसलाई पर्वका रुपमा मनाउँदै आएको उनले बताए ।

जात्रा संस्कृतिका संरक्षक चित्रलाल श्रेष्ठले जुम्लामा नेवारले विसं १९५३ देखि शुरुवात गरेपछि यो संस्कृतिका रुपमा स्थापित भएको बताए। हामी नेवारले मनाउने यो संस्कृति पछिल्लो समयमा सामाजिकीकरण हुँदै गएको छ, जहाँ क्षेत्री, पुरी, भारती, गिरी र दलितले पनि मनाउन थालेका छन्, संरक्षक श्रेष्ठले भने । उनका अनुसार साउन २४ गतेदेखि जुम्लामा औपचारिक रुपमा जात्रा पर्व शुरु भएको छ ।

यसैगरी, आज रोपाइँ जात्रा, साउन २६ गते मीनबासा पल्टनजात्रा, साउन २७ गते बाघभालु जात्रा मनाइने जात्रा समितिले जनाएको छ । एक महिना लामो समयसम्म सञ्चालन हुने जात्रापर्व कृष्ण जन्माष्टमीसँगै असत्यको प्रतीक कंसको बध गरेर सम्पन्न गर्ने प्रचलन जुम्लामा रहिआएको छ ।