सम्पादकीय

हिंसा नियन्त्रण गर्न उद्धार समूह गठन गरिने



काठमाडौंँ, २८ साउन । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले मन्त्रालयको तत्कालीन र दीर्घकालीन नीति र कार्यक्रमलाई समेट्दै कार्ययोजना सार्वजनिक गर्नुभएको छ । आफ्नो कार्यकालमा गरिने कामलाई प्राथमिकता दिई शुक्रबार पत्रकारका सामुन्ने ३७ बुँदे कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा उहाँले समाजमा छाउपडी, बोक्सीलगायतका रुढिवादी सोचका आधारमा गरिने भेदभाव, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकविरुद्ध हुने हिंसाको नियन्त्रण गर्न तत्कालै उद्धार समूह (र्यापिड रेस्पोन्स टिम) गठन गर्ने जानकारी दिए ।

७ सय ४४ स्थानीय तहमै गठन गरिने त्यस्ता समूहमा निर्वाचित स्थानीय जनप्रतिनिधि, नागरिक समाज, शिक्षक, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि सहभागी रहनेछन् ।

त्यसैगरी बालबालिकासम्बन्धी ऐनलाई प्रतिस्थापन गर्ने विधेयक, राष्ट्रिय महिला आयोग विधेयक, ज्येष्ठ नागरिकसम्बन्धी विधेयक, समाजकल्याण ऐनलाई प्रतिस्थापन गर्ने विधेयक व्यवस्थापिका संसद्बाट पारित गराई विधेयक ऐनका रूपमा कार्यान्वयन हुनेबित्तिकै नियमावली बनाइने, अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धनसम्बन्धी ऐन संसद्बाट पारित भइसकेकाले त्यसको नियमावली तर्जुमा छिट्टै गरिने, सबै प्रदेशमा ज्येष्ठ नागरिकका लागि आश्रम खोलिने, सार्वजनिक यातायातमा महिला हिंसालाई शून्य बनाउन साझा यातायातलगायतका सार्वजनिक यातायातका संस्थासँग सहकार्य गरिनेछन् । गोरखापत्रमा समाचार छ ।