सम्पादकीय

राजपालाई निर्वाचनमा सहभागी गराउन छलफल



काठमाडौँ, ३० साउन । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा राष्ट्रिय जनता पार्टी नेपालसँग छलफल सुरु गरेका छन् । राजपालाई नयाँ मतपत्र छापेर भए पनि निर्वाचनमा सहभागी गराउने प्रयास भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, निर्वाचन आयोगका पदाधिकारी र राजपा अध्यक्षमण्डलका सदस्यहरूबीच आइतबार भएको बैठकमा राजपालाई एउटा निर्वाचन चिह्नमा सहभागी हुने वातावरण बनाउन छलफल भएको थियो ।

पार्टी एकतापछि दाबी गरिएको छाता चिह्न पाउने सम्भावना नभएपछि एकतामा आएका ६ दलमध्येको एउटा चिह्न प्रयोग गर्नेबारेमा पनि छलफल चलेको छ । तर, निर्वाचन आयोगले प्राविधिक समस्या देखाएकाले ठोस निर्णय नभएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

नयाँ मतपत्र छाप्न १५ दिन लाग्ने

राजपाले माग गरेअनुसार नयाँ चिह्नसहित मतपत्र छाप्ने हो भने कम्तीमा १५ दिन लाग्छ । ३१ वैशाखकै निर्वाचनको निरन्तरता भएको र प्राविधिक तयारीको हिसाबले पनि अर्को मतपत्र छाप्न नहुने पक्षमा आयोग छ । तर, प्रधानमन्त्री, आयोगका पदाधिकारी र राजपा अध्यक्षमण्डलका सदस्यहरूसहितको संयुक्त बैठकमा आयोगले प्राविधिक समस्या देखाएर मतपत्र छाप्न नसकिने बताएको थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जसरी पनि छाता उपलब्ध गराउनुपर्ने धारणा राखेपछि प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले प्राविधिक समस्या रहेको भन्दै पुनः मतपत्र छाप्प नसकिने बताएका थिए । त्यसलगत्तै प्रधानमन्त्री देउवाले जनक शिक्षा सामग्री केन्द्रसँग बुझेका थिए । केन्द्रले २ नम्बर प्रदेशमा आवश्यक करिब २५ लाख मतपत्र छाप्न कम्तीमा १५ दिन लाग्ने बताएपछि सरकारले निर्णय गर्ने देउवाको भनाइ थियो ।

छाता चिह्न विवादित

राजपाले दाबी गर्दै आएको निर्वाचन चिह्न छाता विवादमा छ । निर्वाचन आयोगका अनुसार अर्कै दलले पहिलादेखि छाता चिह्न दाबी गरिरहेको छ । आयोगको कानुनअनुसार पहिला दाबी गर्ने दललाई निर्वाचन चिह्न दिनुपर्ने हुन्छ ।

तर, आयोगले अहिलेसम्म निर्णय गरिसकेको छैन । आइतबार प्रधानमन्त्री, आयोग र राजपाका नेताहरूबीच बसेको बैठकमा छाता निर्वाचन चिह्न उपलब्ध गराउन प्रधानमन्त्री र आयोगलाई आग्रह गरेको राजपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । ‘आयोगले प्राविधिक रूपमा समस्या रहेको, तर सोमबारसम्म एउटा निर्णय गर्ने जानकारी दिएको छ,’ ठाकुरले भने । नयाँपत्रिकामा समाचार छ ।