समाचार

डा. केसीको अनशन स्थगित, उपचारका लागि आइसियूमा लगियो



काठमाडौँ श्रावण ३१ । डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्। डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियूमा लगिएको छ।

डा. केसीले अनशन स्थगित गर्दा छोटो सम्बोधन गरेका थिए। सरकारले डा. केसीका माग सम्बोधनमा ढिलाइ गरिरहेका बेला उनले कुनै सम्झौता बिना नै अनशन स्थगित गरेका हुन्। डा. केसीले भने, देशका सबै नागरिकसम्म गुणस्तरीय, सर्वसुलभ र विकेन्द्रित स्वास्थ्य सेवा नपुगुन्जेल हाम्रो अभियान जारी रहनेछ। सत्याग्रहको कार्यक्रम स्थगित गरे पनि चिकित्सा शिक्षा ऐनका लागि हाम्रो लडाइँ निरन्तर जारी रहनेछ।

यसै गरी डा. केसीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, आफैँले गर्नुपर्ने त्यो काममा हाम्रा जनप्रतिनिधिहरुले देखाएको उदासीनता र पछिल्लो समयमा गरिएको त्यस प्रतिकूल ऐन जारी गर्ने प्रयास दुखद् छ र अब भविष्यमा त्यस्तो व्यवहार दोहोरिने छैन भन्ने हाम्रो विश्वास छ।

डा. केसीले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद पनि दिएका छन्। उनले भनेका छन्, देशभरबाट हाम्रो अभियानलाई साथ दिनुहुने सबै महानुभावलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। यसरी नै एकबद्ध भएर लाग्ने हो भने हामीले अभियानको कुनै पनि चरणलाई सफल बनाएर छाड्न सक्छौँ भन्नेमा म विश्वस्त छु।