Banner News

नेपाल र चीनबीच तीन महत्त्वपूर्ण सम्झौता, चीनले बाढीपीडितलाई १० लाख डलर सहयोग गर्ने



काठमाडौं, ३२ साउन । नेपाल र चीनबीच भूकम्पपछिको पुनःनिर्माण, नेपालमा चिनियाँ लगानी तथा पेट्रोलियम पदार्थको अन्वेषण लगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको छ । मङ्गलबार काठमाडौं भएको दुईपक्षीय वार्ताका क्रममा तीनवटा छुट्टाछुट्टै सम्झौता भएका हुन् ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको प्रतिनिधिमण्डल र उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलबीच ‘आर्थिक तथा प्राविधिक सहयोग सम्झौता’, ‘लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनका खाका सम्झौता’ र ‘नेपालको तेल तथा ग्यास उत्खनन’ कार्यका लागि ‘लेटर अफ एक्सचेन्ज’मा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले हस्ताक्षर गरेका छन ।

पहिलो सम्झौताअनुसार चीनले भूकम्पपछिको पुनःनिर्माण र भौतिक पूर्वाधारका लागि एक अर्ब आरएमबी करिब १५ अर्ब रुपियाँ सहयोग गर्नेछ । यो रकम उत्तरी नाका जोड्ने अरनिको राजमार्गको स्तरोन्नति र रसुवाको टुमेरेमा निर्माण हुने पुलका लागि खर्च गरिनेछ ।

भूकम्पका कारण बन्द रहेको तातोपानी नाका जोड्ने अरनिको राजमार्गमा बाढीपहिरोका कारण थप क्षति पुगेको छ । चीनले नेपालको तेल तथा ग्यास खानी उत्खननका लागि १३ करोड ३६ लाख आरएमबी करिब सवा दुई अर्ब रुपियाँ लगानी गर्नेछ । लगानी तथा आर्थिक प्रवद्र्धन सम्झौताले नेपालमा चिनियाँ लगानीका लागि सहजीकरण गर्ने अर्थ मन्त्रालय वैदेशिक सहायता विभाग प्रमुख बैकुण्ठ आचार्यले बताए ।

सम्झौतापत्र हस्ताक्षर हुनुअघि दुवै देशका प्रतिनिधिमण्डलबीच दुईपक्षीय सम्बन्धका बहुआयामिक विषयहरूमा वार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । छलफलका क्रममा उपप्रधानमन्त्री गच्छदारले एक चीन नीतिका साथै छिमेकीहरूविरुद्ध नेपाली भूमि प्रयोग नहुने नेपालको प्रतिबद्धता व्यक्त गरे । वार्ताका क्रममा दुवै पक्षले सम्बन्धलाई अझ बलियो बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वलाई प्राथमिकता दिएको थियो ।

वार्तामा दुईपक्षीय सहयोगका लागि व्यापार, पर्यटन, लगानी, पूर्वाधार विकास, ‘क्रस बोर्डर कनेक्टिभिटी’, ऊर्जा तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो । नेपालले बन्द रहेको तातोपानी नाका खुलाउन आग्रह गरेको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर, वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललगायत सहभागी हुनुहुन्थ्यो ।

चिनियाँ प्रतिनिधिमण्डलमा स्टेट काउन्सिलका डेपुटी सेक्रेटरी जनरल जियाङ जेलिन, नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका भाइस मिनिस्टर वाङ सियोताओ, वाणिज्य मन्त्रालयका उपमन्त्री यु जियानहुवा, विदेश मन्त्रालयका सहायक मन्त्री कोडं सुन्यायु, स्टेट काउन्सिलका सहायक मन्त्री गु वे, स्टेट काउन्सिल जनरल अफिसका कमिसनर सु चाङलगायत छन ।

बाढीपीडितलाई १० लाख डलर

चिनियाँ प्रतिनिधिमण्डलले नेपालका बाढीपीडितलाई १० लाख डलर सहयोग दिने घोषणा पनि गरेको छ । दुईपक्षीय वार्ताका क्रममा बाढीपीडित नेपालीप्रति समवेदना व्यक्त गर्दै चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका चिनियाँ उपप्रधानमन्त्री वाङले मानवीय सहयोगस्वरूप रकम दिने घोषणा गरेका हुन । गोरखापत्रमा समाचार छ ।