Banner News

पूर्व प्रधानमन्त्री नेपाल स्वदेश फिर्ता



काठमाडौँ, ३ भदौ । नेकपा एमाले का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाढी पहिरो प्रभावितलाई राहत तथा विस्थापितलाई आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

उत्तर कोरियाको साताव्यापी भ्रमण गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानीमा उहाँले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै पीडितलाई न्यायोचित ढंगले राहत वितरण गर्नुपर्नेमा जोड दिए।

प्रदेश र केन्द्रीय चुनाव एकैपटक गर्ने तीन दलीय सहमतिको स्वागत गर्दै नेता नेपालले निर्धारित समयभित्र निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने र मुलुकले पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा गति लिने बताए ।

एसियाली सांसदको भेलामा सहभागी हुनुभएका पूर्व प्रधानमन्त्री नेपालले शस्त्र न्यूनीकरणका विषयमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीचमा देखिएको तनावलाई कूटनीतिक माध्यमबाट वार्ता गरी समाधान खोज्न सुझाए ।