शैक्षिक

भाइरल ज्वरोले थलियो भेरी नदी पारीको बस्ती



सुर्खेत, ४ भदौ । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् ।

भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको भाइरल ज्वरोले दुई गाउँका ५०० बढी घरपरिवारका नागरिक प्रभावित भएका हुन् । दुवै गाउँका अधिकांश बालबालिका, युवायुवती र ज्येष्ठ नागरिक ज्वरोले थलिएपछि प्रभावकारी उपचार नपाएकामा स्थानीयले आक्रोश पोखेका छन् ।

जिल्ला जनस्वस्थ्य कार्यालय सुर्खेतले केही दिनअघि मात्रै दुवै गाउँमा एक÷एक दिन स्वास्थ्य शिविर आयोजना गरेको थियो । पुरै गाउँका अधिकांश स्थानीय नागरिक ज्वरोको संक्रमणले थलिँदा स्वास्थ्य कार्यालयको हेपाह प्रवृत्तिका कारण एकदिने शिविरले रोग निर्मूल नभएकामा आक्रोश पोखेका छन् । टाउको दुख्ने, ज्वरो आउने र खुट्टा काम्नेजस्ता लक्षणले दुई वडाका नागरिक १२ दिनदेखि थलिएका बिरामीको संख्या अत्यधिक छ । उपचार गर्न बाहिर जाउँ भने बीचमा भेरी छ, यहाँ गतिलो स्वास्थ्य संस्था छैन– नार्सीका स्थानीय जमना भण्डारीले भन्नुभयो, शिविरका नाममा एक दिन सञ्चालन भयो गाउँमा बिमारी थलिएकै छन् । नार्सीमा रहेको सरस्वती प्राविमा अध्ययनरत विद्यार्थीसमेत ज्वरोको संक्रमणले कक्षा छाड्ने गरेका छन् । एक दिन आयोजना गरेको शिविरमा मात्रै झण्डै ३०० नागरिक ज्वरोको संक्रमण भएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा आइपुगेको छ ।

कार्यालयले शिविर थप गर्न नसकेपछि दैनिक ५० बढी बिरामी स्थानीय मेडिकलमा पुगेर महँगोमा औषधोपचार गर्न बाध्य भएको सरस्वती प्राविका प्रधानाध्यापक हरि ढकालले बताए ।
भेरी नदी पारी रहेको यो बस्तीमा थप उपचारका लागि कैलालीको चिसापानी र भेरी नदीमा जोखिममा डुंगा तरेर बाबियाचौर आउनेबाहेक अन्य उपाय नभएको भण्डारीले बताए । उहाँले सिंगो गाउँ भाइरल ज्वरोले थलिँदा स्वास्थ्य कार्यालयले देखाउनकै लागि स्वास्थ्य शिविरको आयोजना गर्नुभन्दा रोग निर्मूल पार्न आवश्यक दक्ष जनशक्तिसहितको टोली पठाउन माग गरे ।