सम्पादकीय

इतिहासकै जम्बो मन्त्रिपरिषद्



काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेर अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । उनले कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपेर मंगलबारै शपथ र कार्यभार दिएका छन् ।  दुई दिनको अन्तरालमा २ राज्यमन्त्री थपिएपछि राज्यकोषबाट १० करोड रुपैयाँभन्दा बढी खर्च बढ्ने भएको छ ।

यी रान्यमन्त्रीका लागि मासिक तलब, घरभाडा, एकमुष्ट फर्निसिङ खर्च, सुरक्षा पोष्ट, गार्ड, घर, तीनवटासम्म गाडी, उपभसचिवसहित ७ कर्मचारीसमेतको स्वकीय सचिवालयका लागि त्यति रकम खर्च हुने सरकारी अधिकारीहरुले जानकारी दिए ।

२०५२ मा ४८ सदस्यीय मन्त्रिपरिषद् बनाएर आलोचित देउवाले अर्का प्रधानमन्त्री बाबुराम भट्टराईको रेकर्डसमेत तोडेर ५० सदस्यीय बनाएका छन् । भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । मन्त्रिपरिषदमा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । देउवाले सोमबार माओवादी ८ जनालाई राज्यमन्त्री बनाएका थिए ।

प्रधानमन्त्री देउवासँग अझै ४ मन्त्रालय छन् तिनमा पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र साना पार्टीका नेतालाई मन्त्री बनाउने उनको तयारी छ । यसो गर्दा ४ मन्त्री र ४ राज्यमन्त्री थपिए मन्त्रिपरिषद् ५८ सदस्यीय हुनेछ । त्यतिबेला मासिक थप ४ करोड रुपैयाँसम्म प्रशासनिक खर्च बढ्ने सरकारी अधिकारीहरुले जनाए । कान्तिपुरमा समाचार छ ।