काठमाडौं, ८ भदौ । नेताहरूको अनियन्त्रित विदेश भ्रमण मोहले पार्टीमा अराजकता मौलाएको निष्कर्ष निकाल्दै एमालेले अबदेखि केन्द्रीय अध्यक्षको जानकारीविना कुनै पनि नेता भ्रमणमा जान नपाउने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय, धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष केपी ओलीको जानकारीविना कुनै पनि नेता विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको हो ।
गत असारयता वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालसहित एक दर्जन बढी पदाधिकारी तथा केन्द्रीय तहका नेताले विभिन्न देशको भ्रमण गरेका छन् । तर, तीमध्ये अधिकांशले पार्टी अध्यक्ष, विदेश विभाग प्रमुख र केन्द्रीय कार्यालयलाई जानकारी नै नदिएको पाइएपछि कडा निर्णय गर्नुपरेको स्थायी समितिका एक सदस्यले बताए ।
पार्टीका नेताहरूको विदेश भ्रमण मोह अनियन्त्रित र मनपरी ढंगले अघि बढेको देखियो, ठूलो पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय तहका नेताहरूको भ्रमण दुई पार्टीबीच मात्रै होइन, दुई देशबीचको सम्बन्धसँग पनि जोडिएको हुन्छ,’ ती सदस्यले भने, ‘तर, भ्रमणबारे पार्टी नै बेखबर हुने, स्थायी समितिमा भ्रमणका उपलब्धिबारे प्रतिवेदन पनि नबुझाउने स्थितिले पार्टीमा अराजकता मौलायो । त्यसकारण संस्थागत पद्धति र मर्यादा कायम राख्न पनि कडाइसाथ निर्णय गरिएको हो । नयाँपत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्