शैक्षिक

भाइरल संक्रमणका बिरामी बढे



दाङ, ९ भदौ । दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ ।

जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा भाइरल ज्वरो, हेपाटाइटिस, पखाला र जण्डिसजस्ता रोगका बिरामीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ ।

जिल्लामा उपक्षेत्रीय अस्पताल घोराही, अञ्चल अस्पताल तुलसीपुर, देउखुरीको लमही अस्पताल, स्वास्थ्य चौकी र गाउँ गाउँमा रहेका निजी क्लिनिकमा विशेषगरी भाइरल ज्वरोका बिरामी धेरै रहेका छन् । अहिले देखिएको समस्या मौसमी भएको भन्दै राप्ती उपक्षेत्रीय अस्पतालका डा जितनारायण यादवले विशेष ख्याल गर्न सुझाव दिए ।

स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न, तातो र झोल वस्तुहरु खान र आराम गर्न उनको सुझाव छ । वर्षा पछिको वातावरणसँगै दूषित पानीले स्वास्थ्य समस्या निम्त्याएको भन्दै उहाँले स्वास्थ्य जाँच गर्नमा खेलबाड नगर्न बिरामीलाई आग्रह गरे ।

हाल दैनिक २०० भन्दा बढी भाइरलका बिरामीहरु अस्पतालमा आउने गरेको डा सुबोध शर्माले जानकारी दिए ।