रुपन्देही, १० भदौ । रूपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतङ्कित छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम)को चुल्ठो बिहीबार बिहान काटिएको छ ।
सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै काटिएको थियो । यस्तो घटनाबाट रूपन्देहीमा १५ जनाभन्दा बढी महिला पीडित बनेका छन् ।
रूपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना बढ्दै गएका छन । उनीहरूको कपाल कैँचीले काटिएको जस्तो देखिन्छ । तर, कसरी र कसले काटिदियो भन्ने खुलेको छैन । कपाल काटिएको देखेपछि बेहोश भएकी सुनिताले भैरहवाको भीम अस्पतालमा भने, ‘केही समय टाउको मझमाएजस्तो भयो । त्यति बेला न्याउरी मुसो आएको जस्तो लाग्छ ।
एकै छिनमा रिँगटा लाग्यो । पछि होश आउँदा त कपालको चुल्ठो नै काटिएको रहेका’ उनका अनुसार बेहोश हुनुअघिसम्म चुल्ठो काटिएको थिएन । त्यसपछि कसले काटिदियो, उनले ठम्याउन सकिनन । अस्पतालका अहेव गोपाल उपाध्यायका अनुसार उनीहरूलाई मानसिक उपचार र औषधि दिइएपछि स्वास्थ्य सामान्य हुँदै गएको छ ।
उनका अनुसार भीम अस्पतालमा मात्रै १७र१८ जना यस्ता खालका बिरामी आएका र उपचार गरी घर फर्किएका छन । कपाल काटिनेमध्ये अधिकांश महिला तराई मूलका रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन । भीम अस्पतालमा आएका घटनामध्ये पहाडी मूलकी महिला एकजनामात्रै आएको बताइएको छ ।
भारतमा पनि महिलाको कपाल काटिने घटनाले आतङ्क नै मच्चाएको छ । भारतको हरियाणा र राजस्थान राज्यमा ५० जनाभन्दा बढी महिलाको कपाल काटिएको खबर बाहिर आएको छ । रूपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले महिलाको कपाल कीराले काटेको बताउँदै कपाल काट्ने कीरालाई कपाल काट्दै गरेको बेला नियन्त्रणमा लिएको दाबी गर्नुभयो । प्रहरीले बेथरीबाट उक्त कीरा समातेको बताएको छ ।
प्रहरीले यस्ता घटनामा घरकै कुनै सदस्य या महिलाको हात हुनसक्ने अनुमान गरिरहेको छ । महिला आफैँले आफ्नो कपाल काट्ने काम गरेर आतङ्क सिर्जना गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन । अहिलेसम्म कपाल काटिएका महिलाको कपाल घरभित्रै काटिएको पाइएको छ । कपाल काटिएर उपचार गर्न आएकामध्ये केही महिला दुईतीन दिनको अन्तरालमा दोहोरिएर आएको चिकित्सकले जनाएका छन ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग विशेषज्ञ डा। सञ्जीव रञ्जनले मास हिस्टेरिया नामक रोगका कारण यस्ता घटना बाहिर आएको बताए । चिकित्सकले हाउगुजीको पछि नलागी नडराईकन बस्न पनि सुझाएका छन् । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्