काठमाडौ,१४ भदौ । असोज २मा हुने प्रदेश २ को स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलले अझै उम्मेदवार टुंगो लगाउन सकेका छैनन । मतदानका लागि २० दिन मात्र बाँकी रहँदा दलहरू अन्तिम कसरतमा भन्दै दैनिकजसो आआफ्नै नेतासँग बैठक बसिरहेका छन् । तर उम्मेदवारका नाममा सहमति जुट्न नसक्दा बैठक निष्कर्षमा पुग्न सकेको छैन ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले साउन अन्त्यमै उम्मेदवारको टुंगो लगाएर प्रचार प्रसारका लागि आफ्ना उम्मेदवारलाई पर्याप्त समय दिने भन्दै आएपनि हालसम्म उम्मेदवारमा सहमति जुटाउन सकेको छैन । कांग्रेसले जिल्ला स्तरबाटै ७० प्रतिशत नाममा सहमति भएर आएको र विवादित रहेका बाँकी ३० प्रतिशत स्थानमा छलफल भइरेहको बताएको छ ।
विगत केही दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा टिकटको टुंगो लगाउन बसेको बैठकमा प्रदेश २ का ८ जिल्लामध्ये पर्सा र धनुषाबाहेक टुंगो लागिसकेको भनिए पनि त्यहाँ कसले टिकट पाउने भन्ने प्रस्ट भएको छैन । राजधानीले लेखेको छ ।
कांग्रेस नेता तथा श्रममन्त्री फरमुल्लाह मन्सुरले बुधबारबाट पुनः टिकटका विषयमा छलफल सुरु हुने र केही दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने बताए । ‘छलफल चलिरहेको छ, केही दिन भित्रै सबै उम्मेदवारको टुंगो लाग्छ, विवाद भएका स्थानको टुंगो लागेपछि मात्र सबै उम्मेदवारको नाम सार्वजनिक हुन्छ,’ मन्त्री मन्सुरले राजधानीसँग भने । कांग्रेस केन्द्रीय सदस्य अजयकुमार चौरसियाले सर्वसम्मत भएका नामका विषयमा एकतर्फी छलफल सकिएको र अब विवादित भएका केही स्थानका नाममा छलफल हुने जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल एमालेले भने प्रदेश २ का १ सय २४ तहका उम्मेदवार टुंगो लगाइसकेको छ । प्रदेश २ मा १ सय ३६ स्थानीय तह छन् । एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरीले बाँकी तह १५ भदौभित्रैमा टुंगो लाग्ने बताए । एक महानगरपालिकासहित तीन उपमहानगरपालिकाका उम्मेदवार पार्टी स्थायी कमिटीले अन्तिम टुंगो लगाउने उनले बताए । स्थायी कमिटीले १५ भदौभित्र टुंगो लगाउने उनले बताए ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले उम्मेदवारहरूको संख्या धेरै रहेकाले उम्मेदवार टुंगो लगाउने विषयमा छलफल जारी रहको बताए । अहिलेसम्ममा एक ठाउँमा पनि उम्मेदवार टुंगो नलगाएको राजपा नेपालले १८ गते सम्ममा उम्मेदवार टुंगो लगाउने जनाएको छ । एक तहका लागि तीन देखि १६ जनासम्म आकांक्षी रहेकाले त्यसमध्ये एकलाई दिनुपर्ने हुनाले पार्टीभित्र छलफल चलिरहेको छ ।
जिल्लाजिल्लामा खटाइएका केन्द्रीय पर्यवेक्षकले जिल्लामै विवाद मिलाउने प्रयास गरिरहेकाले जिल्लामा मिल्न नसकेको अवस्थामा पार्टीका केन्द्रीय अध्यक्ष मण्डलले १८ गतेभित्र उम्मेदवार टुंगो लगाइसक्ने झाले बताए । संघीय समाजवादी फोरम नेपालका महासचिव रणध्वज कन्दङवाले १ सय ३६ मध्ये ६४ तहमा उम्मेदवार टुंगो लागिसकेको बताए । बाँकी रहेका ठाउँमा छिट्टै टुंगो लाग्ने पनि उनले बताए ।
नेकपा माओवादी केन्द्रले उम्मेदवार छनोटका विषयमा मंगलबार जनकपुरमा दुईपटक बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालय सदस्य तथा जिल्लाका नेताहरू कसलाई टिकट दिने भन्नेमा छलफल गर्न बैठक बसेका हुन् । सचिवालय सदस्य तथा प्रदेश दुईका संयोजक मातृका यादवले धेरैजसो स्थानीय तहका उम्मेदवार कसलाई बनाउने भन्नेमा टुंगो लगाइसकेको र केहीमा मात्र टुंगो लाग्न बाँकी रहेको बताए ।
माओवादी केन्द्रले उम्मेदवार कसलाई बनाउने भन्नेमा तल्लो तहबाटै टुंग्याउने रणनीति बनाएको छ । उसले केन्द्रमा आएका नामसमेत जिल्लाबाटै टुंगो लगाउने भन्दै फिर्ता गरेको छ ।
नेता यादवले महोत्तरी र बारामा ९० प्रतिशत उम्मेदवारी टुंगो लागेको र बाँकी सबै जिल्लामा केहीबाहेक अधिकांश टुंगो लागिसकेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्