सम्पादकीय

कर्णालीलाई राष्ट्रिय प्रशारणमा जोड्ने तयारी



काठमाडौं, १५ भदौ । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले कैलालीको लम्की वा दोधारा सव स्टेसनबाट कर्णाली अञ्चलको कालीकोट जिल्लासम्म जोड्ने ४०० केभी क्षमताको राष्ट्रिय प्रशारण लाइन निर्माण गर्नका लागि आशय पत्र प्रकाश गरिसकेको छ । यो प्रशारण लाइनमा पहिलो चरणमा १३० किलोमिटर हुने बताइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीका अनुसार कर्णाली जलाधार क्षेत्रमा उत्पादन हुने जलविद्युत्लाई कैलालीमा झार्ने र कैलालीबाट पूर्वी र पश्चिम नेपाल एवं भारतसम्म निर्यात गर्नसकिने गरी यो कामलाई अगाडि बढाइएको हो ।

उनले भने, कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि छ किलोमिटर उत्तर रहेको फुकोटमा सव स्टेसन निर्माण गरी कर्णाली जलाधार क्षेत्रका विभिन्न आयोजनाबाट उत्पादन भएको करिब एक हजार दुई मेगावाट बिजुली कैलालीसम्म जोड्ने र कैलालीको लम्की अथवा दोधारा सव स्टेसनबाट पूर्व–पश्चिमतर्फ वितरण गरिनेछ ।

कम्पनीले पहिलो चरणमा प्रशारण लाइनको अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआ) निर्माण गर्न परामर्शदाता छनोटका लागि आवश्यक प्रक्रियाको थालनी गरिसकेको उहाँले बताए । परामर्शदाताले डीपीआर निर्माण गरिसके पछि निर्माण ठेकेदार कम्पनीको छनोट गरिने छ ।

प्रशारण लाइनको लागत डीपीआर निर्माणपछि मात्र थाहा हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । आगामी पाँच वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको यो प्रशारण लाइन निर्माणपश्चात् कर्णाली जलाधार क्षेत्रमा दर्जनौ जलविद्युत् आयोजना बन्ने निश्चित छ । गोरखापत्रमा समाचार छ ।