काठमाडौं, १७ भदौ । प्रमुख दलहरूले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणका निर्वाचन तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रूपमा लिएका छन् ।
उनीहरूबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी तीव्र भएको छ । प्रतिस्पर्धी दललाई जित्न कुन व्यक्ति बढी सक्षम भन्दै लेखाजोखा गरेर उम्मेदवार टुंग्याउन भने सबै पार्टीमा सकस देखिएको छ । आकांक्षीको संख्या ठूलो भएकाले व्यवस्थापन गर्न गाह्रो भएको नेताहरूले बताएका छन् ।
कांग्रेसले मधेसलाई आफ्नो वर्चस्व हावी रहेको इलाका ठान्दै आएको छ । २०७० मा भएको संविधानसभा दोस्रो चुनावमा मधेसमा सबैभन्दा बढी सिट कांग्रेसले यही क्षेत्रबाट ल्याएको थियो । अहिले पनि प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये कम्तीमा सय स्थान जित्ने दाबी उसले गर्दै आएको छ । सय सिट ल्याए अघिल्ला दुई चरणमा गुमाएको क्षतिपूर्ति हुने उसको आकलन छ ।
प्रमुख प्रतिपक्षी एमालेले पनि अघिल्ला दुई चरणजस्तै प्रदेश २ मा पनि पहिलो हुने दाबी गर्दै आएको छ । सरकारले केही समयअघि ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा रहेको एमालेले आफ्नो अडान जनमतबाट प्रमाणित गर्न चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ ।
राजपा र संघीय समाजवादी फोरमको त मुख्य प्रभाव क्षेत्र नै यही हो । यी दुवै पार्टी यस प्रदेशबाट कांग्रेस र एमालेलाई पछि पार्ने दाउमा छन् । तर आपसी प्रतिस्पर्धा यी दुवैका लागि चुनौती हो । संविधान संशोधन मुद्दा स्थापित गर्न पनि मधेस केन्द्रित दलले यो चुनावलाई प्रतिष्ठा बनाएका छन् ।
सबैको प्रतिष्ठा बनेकै कारण उम्मेदवार चयनमा भने सकस परिरहेको छ । पार्टी्भित्रको आन्तरिक व्यवस्थापन गर्दै लोकप्रिय र चुनाव जित्न सक्ने उम्मेदवार चयन गर्ने चुनौती सबैमा छ ।
कांग्रेसमा गुटकै किचलो
दुई चरणको चुनाव सम्पन्न हुँदा संसद्को पहिलो दल कांग्रेस स्थानीय तहमा दोस्रो स्थानमा र्झयो । दोस्रो स्थानमा आइपुग्नुका कारणबारे केन्द्रीय कार्यसमितिको बैठकमा समीक्षा गर्दै भनियो, ‘उम्मेदवार तय गर्न ढिलाइ हुनु, राम्रालाई भन्दा हाम्रालाई च्याप्न खोज्नु र पार्टी्भित्रैबाट अन्तर्घात हुनु ।
प्रदेश २ को चुनावमा यी सबै कमजोरी नर्दोयाउने वाचासहित साउनभित्रै उम्मेदवार तय गर्ने निर्णय लिइयो । तर भदौ दोस्रो साता भइसक्दा पनि कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन । यसको कारण पनि पुरानै हो । एक केन्द्रीय सदस्यले भने, ‘प्रदेश २ मा पार्टीका गुटहरूबीच को बढी हावी हुने भन्ने विवाद छ ।’
प्रदेश २ को हकमा उम्मेदवार तय गर्न विधि पनि फरक बन्यो । अघिल्ला चरणमा जस्तो स्थानीय संयन्त्र हावी हुन पाएनन् । केन्द्रीय कार्यसमितिले प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेता तथा केन्द्रीय सदस्यलाई उम्मेदवार तय गर्ने जिम्मेवारी दियो । त्यसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट महामन्त्री शशांक कोइराला थपिए ।
कांग्रेस नेता शेखर कोइरालालगायत कतिपय नेताले उम्मेदवार चयनमै पृथक् विधि अपनाइएकोप्रति असन्तुष्टि जनाउँदै आएका छन् । त्यसमा पनि प्रदेश २ मा पूर्वमहामन्त्रीसमेत रहेका विमलेन्द्र निधि हावी हुन खोजेको भन्दै पार्टी्भित्रै विमति छ । उम्मेदवार चयनको मुख्य भूमिकामा महामन्त्री कोइराला र पूर्वमहामन्त्री निधि छन् ।
तर उनीहरू दुवैलाई आ–आफ्नो समूहको दबाब बढ्दो छ । निधि प्रदेश २ बाटै आफ्नो राजनीतिक उचाइ अघि बढाउन चाहन्छन् । त्यसैले पनि उनी आफूअनुकूललाई ठाउँ दिन खोज्दै छन् । पार्टीमा भावी उपसभापतिका रूपमा समेत हेरिएका निधिले यही मौकामा आफ्नालाई ठाउँ दिन जोड जति गर्दैछन्, उत्तिकै उनको विरोध पनि सुरु भएको छ । यही रस्साकस्सीबीच कांग्रेसले शुक्रबार रातिसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
दुई साताअघिदेखि नै उम्मेदवार चयनका लागि महामन्त्री कोइरालासहित प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठक निरन्तर बसिरहेको छ । उम्मेदवार चयन गर्ने मुख्य भूमिकामा पार्टी संस्थापन पक्षले निधिलाई र वरिष्ठ नेता पौडेलले महामन्त्री कोइरालालाई जिम्मा दिएका छन् । दुवै समूहभित्र आ–आफ्नो पक्षलाई उम्मेदवार बनाउन तीव्र दबाब छ ।
यी दुई समूहबाहेक खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौलाको समूह पनि क्रियाशील छ । यी दुई समूहले पनि आफ्नो हिस्सा खोजिरहेका छन् । ‘जे नहोस् भन्ने थियो त्यही कमजोरी प्रदेश २ मा पनि देखिन पुग्यो,’ प्रदेश २ बाट प्रतिनिधित्व गर्ने एक केन्द्रीय सदस्यले भने, ‘हामीलाई साक्षी राखेर आफ्नो मान्छे च्याप्न उम्मेदवार घोषणा गरिँदैछ ।’
कांग्रेसमा अझै सप्तरी, महोत्तरी, बारा, धनुषा, रौतहटलगायत जिल्लामा विवाद कायम छ । यी जिल्लामा संस्थापन पक्ष र पौडेल पक्षबीच आ–आफ्नो पक्षलाई उम्मेदवार बनाउने मुख्य लडाइँ छ । शुक्रबार भैंसीपाटीस्थित एक रेस्टुरेन्टमा उम्मेदवार टुंग्याउन बसेको बैठकसमेत निर्णयमा पुग्न सकेन ।
एमालेलाई आकांक्षीको भारी
प्रदेश २ को उम्मेदवारी टुंग्याउन एमालेलाई पनि सकस परिरहेको छ । अधिकांश स्थानको उम्मेदवारी टुंगिए पनि केही जिल्लामा विवाद छ । विवाद मिलाएर उम्मेदवारी टुंगो लगाउन शनिबार स्थायी समिति बैठक बस्दैछ । ‘आकांक्षीहरू धेरै छन्, कसलाई उठाउँदा जित सहज हुन्छ भन्ने मूल्यांकन भइरहेको छ,’ एमाले स्थायी समिति सदस्य एवं प्रदेश २ का प्रमुख सत्यनारायण मण्डलले कान्तिपुरसँग भने, ‘धेरै स्थानको टुंगिए पनि केही ठाउँको बाँकी छ । उनका अनुसार सोमबारभित्र सबै स्थानीय तहका उम्मेदवारको नाम टुंगिन्छ ।
महानगर र उपमहानगरको उम्मेदवारीको स्थायी समिति र बाँकीको प्रदेश कमिटीबाट टुंगो लगाउने एमालेले जनाएको छ । शनिबारको स्थायी समिति बैठकले महानगर, उपमहानगर र केही विवादित स्थानको टुंगो लगाउनेछ । दुई चरणको चुनावमा पहिलो पार्टी भएकाले तेस्रो चरणमा पनि त्यो स्थान हासिल गर्नुपर्ने भन्दै एमाले नेताहरू मधेसमै प्रचारप्रसारमा व्यस्त छन् ।
तेस्रो ठूलो दल माओवादी केन्द्रले भने शनिबार वीरगन्जबाट उम्मेदवारहरूको अन्तिम घोषणा गर्ने तयारी गरेको छ । माओवादी प्रदेश २ का संयोजक विश्वनाथ साहका अनुसार धेरै स्थानका उम्मेदवारको नाम टुंगिएकाले बाँकीको पनि टुंगो लाग्नेछ । ‘तालमेलको सम्भावना पनि हेरिरहेका छौं,’ साहले भने, ‘यी सबै कुरालाई ख्याल गरेर उम्मेदवारी घोषणा गर्ने तयारी छ ।’
राजपाभित्र पनि मारामार
राष्ट्रिय जनता पार्टी (राजपा) भित्र पनि उम्मेदवार छान्ने विषयमा मारमार छ । पार्टीले प्रदेश २ का ८ वटै जिल्लामा उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति बनाएको छ । समितिलाई शुक्रबारसम्म सके सर्वसम्मत, नसके अधिकतम तीन जनाको नाम केन्द्रमा पठाउन निर्देशन दिइएको थियो । तर, शुक्रबार कुनै पनि समितिले नाम पठाउन सकेनन् ।
आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न कठिनाइ परेको तर्क गर्छन्, राजपा महासचिव केशव झा । उनका अनुसार सबै ठाउँमा आधा दर्जनजति उम्मेदवार छन् । महोत्तरीको पिपरा गाउँपालिकामा प्रमुख पदमा ३० जना आकांक्षी छन् ।
६ मधेसवादी दल मिलेर बनेको राजपाभित्र उम्मेदवार चयनमा पूर्व ६ दलकै नेता प्रभाव देखाउने होडबाजीमा छन् । जसका कारण एउटै पदमा न्यूनतम ६ भन्दा बढी आकांक्षी देखिएका हुन् । ‘स्थानीय तहमा सहमति हुन नसकेपछि शनिबार सबै जिल्लाबाट केन्द्रमा नाम पठाउन भनिएको छ,’ झाले भने, ‘एउटा पदमा न्यूनतम तीन या त्यसभन्दा कमको नाम पठाउने गृहकार्य समितिहरूले गरिरहेका छन् ।’ राजपाले ढिलोमा भदौ १८ भित्र उम्मेदवार चयन गर्ने जनाएको छ ।
तालमेल सम्भावना कम
अघिल्ला दुई चरणमा जस्तो तालमेलको सम्भावना यस पटक न्यून देखिएको छ । प्रमुख सबै पार्टी्भित्र आकांक्षीको व्यवस्थापन गर्न कठिनाइ परेका कारण तालमेलका सम्भावना कम भएको हो । तैपनि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच केही ठाउँमा तालमेलको सम्भावना छ ।
आफ्नो पोजिसन कमजोर भएको ठाउँमा स्थानीय स्तरबाटै तालमेलको प्रयास भइरहेको राजपा महासचिव झा बताउँछन् । ‘आफ्नैमा मारामारको स्थिति छ, अरूसँग कसरी तालमेल गर्ने ?’ झा भन्छन्, ‘तैपनि महत्तरीको बर्दिबासमा कांग्रेससँग, सप्तरीको रूपनी गाउँपालिकामा फोरमसँग र केही ठाउँमा माओवादीसँग तालमेलको एप्रोच भइरहेको छ ।’ कांग्रेसले आफ्नो पोजिसन कमजोर रहेको स्थानमा तालमेल गर्ने भन्दै उम्मेदवार चयनमा ढिलाइ गर्दै आएको छ ।
एमाले नेताहरूले पनि तालमेलको सम्भावना रहेको बताएका छन् । तर कांग्रेससहितको सत्ता गठबन्धन एकतिर रहेकाले सम्भावना कम छ । यसअघिको गठबन्धनको परिणाम राम्रो छैन । तर कांग्रेसबाहेक अन्य सबै दलसँग तालमेल गर्न सकिने उसको भनाइ छ ।
माओवादी केन्द्रले पनि सत्तारूढ दलहरूबीचकै गठबन्धनमा जोड दिएको छ । यसअघि एमालेसँग तालमेल गरे पनि मधेसमा अन्य दलसँगको तालमेल बढी फाइदाजनक हुने उसको ठम्याइ छ । त्यसैले एमालेसँग तालमेलका लागि खासै कुराकानी नभएको माओवादी केन्द्रका प्रदेश २ संयोजक साहले जानकारी दिए । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्