राजनीति

हाउसफुल ए मेरो हजुर–२



काठमाडौं १८ भदौ ।नेपालमा सिक्वेल शृंखला चलचित्र त्यति धेरै सफल भएको इतिहास छैन । तर चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल ‘ए मेरो हजुर–२’ ले राजधानी र मोफसलका सिनेमा हलमा यतिबेला राम्रो व्यापार गरेको छ ।

यो चलचित्र देशव्यापी प्रदर्शनीमा आएको हो । ए मेरो हजुरकी अभिनेत्री एवं निर्माता झरना थापाले सो चलचित्रका अभिनेता श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीको सम्झनामा चलचित्र ‘ए मेरो हजुर–२’ निर्देशन निर्माण गरेकी थिइन् ।ए मेरो हजुरले हासिल गरेको सफलता जस्तै ए मेरो हजुर–२ ले पनि यतिबेला राम्रो व्यापार गरेको छ ।

यो चलचित्र मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलमा शुक्रबारबाट प्रदर्शनीमा आएको छ । शनिबार यो चलचित्र मुलुकका बहुसंख्यक सिनेमा हलमा हाउसफुल भएको छ । काठमाडौंका सिंगल हलदेखि मल्टिप्लेक्ससम्म यो फिल्म शनिबार हाउसफुल भएको छ ।

गोपीकृष्ण मुभिजका प्रबन्धक तीर्थ पौडेलका अनुसार गोपीकृष्णसहित शनिबार त्यहाँ चारवटा सिनेमा हल हाउसफुल भएका छन् ।यस्तै त्रिरन्त मानन्धरका अनुसार अष्टनारायण हलमा पनि शुक्रबार, शनिबार ए मेरो हजुर–२ हेर्न पाउनेको भीड उत्साहजनक रह्यो । कलंकी हलका सञ्चालक एवं चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालले पनि आफ्नो हल शनिबार हाउसफुल भएको बताए ।

बागबाजरस्थित सीटीम्याक्स सिनेमाका सञ्चालक उपेन्द्र खड्गीले पनि सो सिनेमा हलमा शनिबार ए मेरो हजुर–२ हाउसफुल भएको बताए । काठमाडौंको क्युएफएक्स, बिग, क्युजलगायत मल्टिप्लेक्समा पनि ए मेरो हजुर–२ ले राम्रो व्यापार गरेको छ ।

झरना थापा यही चलचित्रबाट निर्देशनमा उत्रिएकी हुन् । उनको निर्देशन कार्यको यतिबेला दर्शकबाट प्रशंसित भएको छ । यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।यही चलचित्रबाट सलिनमान बानियाँ अभिनेताको रूपमा नेपाली चलचित्र वृत्तमा उदाएका छन् । तन्नेरी पुस्ताको प्रेमकथामा आधारित यो चलचित्रमा सलिन र साम्राज्ञ राज्यलक्ष्मी शाहको जोडीलाई रुचाइएको छ । यी दुईबाहेक सलोन बस्नेत, बुद्धि तामाङलगायतको अभियन यसमा छ । सामिप्यराज तिमिल्सेनाले लेखेको यो चलचित्रलाई सञ्जय लामाले खिचेका हुन् ।