काठमाडौं, १९ भदौ । सर्वोच्च अदालतले अब आफ्नै लोगो प्रयोगमा ल्याउने भएको छ ।
सर्वोच्च अदालत नियमावली २०४९ संशोधन गर्दै अदालतले छुट्टै लोगो नेपाल राजपत्रमा प्रकाशित गरेको छ । अहिले व्यवस्थापिका संसद्ले पनि आफ्नै छुट्टै लोगो प्रयोग गर्दै आएको छ । संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
नियमावलीको नियम ६ ले अदालतले विशेष चिह्न अङ्कित लागो प्रयोगमा ल्याउने व्यवस्था गरेको छ । नियमावलीको नियम ६ मा भनिएको छ, ‘अदालतले आफ्नो र मातहतको अदालतको लागि विशेष चिह्न अङ्कित झन्डा र प्रतीक चिह्न प्रयोग गर्न सक्नेछ । ’
यस्तै नियमावलीको नियम ४५ ले मुद्दामा अनावश्यक दुःख दिने तथा झुटा मुद्दा सिर्जना गर्नेबाट आर्थिक भार पर्ने पक्षलाई क्षतिपूर्ति भराउने व्यवस्था गरेको छ । सम्पत्ति विवादजस्ता मुद्दामा अनावश्यक दुःख दिने उद्देश्यले मुद्दा बढेको निष्कर्षसहित यसअघि हार्नेबाट जित्नेलाई क्षतिपूर्तिको परिकल्पना गरिए पनि कानुन अभावमा कार्यान्वयन भएको थिएन । छुट्टै कानुन रहेको हकमा कानुनअनुसार नै क्षतिपूर्ति भराउन अदालतले आदेश दिन सक्ने नियमावलीमा छ । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्